सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाद्य व्यवस्थाद्वारा दुई दिनमा २२८ क्विन्टल धान खरिद

२०८२ कार्तिक १४, ०५:०१ खबर संवाददाता

धनगढीः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले कैलालीमा दुई दिनमा दुई सय २८ क्विन्टल धान खरिद गरेको छ।

बुधबारबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले बिहीबारसम्म उक्त परिमाणको धान खरिद गरेको हो ।खाद्य कम्पनीले जिल्लाको मोहनपुर, गौरीगंगा, टीकापुर, सत्ती,भजनी र जोशीपुरमा खरिद केन्द्र तोकेर धान खरिद सुरु गरेको छ । हाल मोहनपुरबाट मात्रै धान खरिद भइरहेको र दुई/तीन दिनभित्र छ वटै खरिद केन्द्रबाट धान खरिद सुरु गर्ने तयारी भइरहेको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए।

सरकारले निर्धारण गरेको धानको न्युनतम समर्थन मूल्यमा किसानबाट धान खरिद भइरहेको तथा जिल्लामा मोटा धान मात्रै खरिद गरिने उनले बताए। सरकारले यस वर्ष मोटा धानको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैया ८१ पैसा निर्धारण गरेको छ।

जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरिएको उनले बताए। एक किसानबाट बढीमा ५० क्विन्टल धान खरिद गरिने कार्यालय प्रमुख थापाले बताए। कम्पनीको मापदण्ड अनुसारको धान मात्रै खरिद गरिने तथा किसानले धान बिक्रीका लागि परिचय खुल्ने कागजात,किसान प्रमाणित सिफारिस,बैंकमार्फत रकम भुक्तानी गरिने भएकाले चेकको प्रतिलिपी ल्याउनु पर्ने उनले बताए।

खाद्यले धान खरिद सुरु गरेसँगै किसानलाई ठूलो राहत भएको छ। यसअघि किसान सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य भएका थिए। गत वर्ष जिल्लामा कम्पनीको धान खरिदको कोटा ५५ हजार क्विन्टल रहेकोमा ३४ हजार ५ सय क्विन्टल मात्रै धान खरिद भएको थियो।
 

कमेन्ट लोड गर्नुस