रोहितको शतकसँगै नेपालले यूएईलाई २३४ रनको लक्ष्य निर्धारण
काठमाडौँ: आईसीसी मेन्स क्रिकेट वल्र्डकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभर पूरा हुनुअघि नै २३३ रनमा आलआउट भयो। नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतक प्रहार गर्दै टोलीको पारी सम्हाले। उनले १३० बलमा १०९ रन बनाए, जुन उनको एकदिवसीय (ओडीआई) करियरको दोस्रो शतक हो।
त्यसअघि ओपनर आसिफ शेखले ३५ रन, आरिफ शेखले २७ रन र दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान दिए।
बलिङतर्फ यूएईका जाहिद अलीले उत्कृष्ट प्रदर्शन गर्दै ६ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए। त्यसैगरी जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट हात पारे भने मुहम्मद रोहिद र हैदर अलीले तिनले क्रमशः १–१ विकेट लिएका थिए।
अब यूएईले जितका लागि ५० ओभरमा २३४ रनको लक्ष्य पछ्याउनेछ।