शिक्षामा डिजिटल प्रविधिको उपयोगीता बढाउँदै डडेल्धुराका पालिका
डडेल्धुराः शैक्षिक क्षेत्रमा सुशासन पारदर्शिताका लागि डडेल्धुराका पालिकाहरुले डिजिटल प्रविधिलाई प्राथमिकतामा राखि सेवा प्रवाह गरिरहेका छन् ।
ग्रामिण दुर्गम क्षेत्र भएकाले पालिकासम्म दिनहुँ विद्यालयका प्रधानाध्यापक वा विद्यालय व्यवस्थापन समितका अध्यक्ष, पदाधीकारी एवं शिक्षकहरु धाउने अवस्थाको अन्त्य गर्न डिजितल प्रविधिको प्रयोग गरिँदै आएको छ।
शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकले विद्यालय र विद्यार्थीलाई बढी समय उपलब्ध गराउन इमेल, भिडयो कल र फोनबाट बढीभन्दा बढी सूचना आदानप्रदान हुने गरेको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृतले जानकारी दिए। विद्यालयको प्रतिनिधित्वका लागि पालिकामा शिक्षकको भौतिक उपस्थिती हुनै पर्ने बेला मात्रै उपस्थित गराउने रणनीति अपनाईएको भागेश्वर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत गणेश बहादुर पौडेलले बताए।
उनका अनुसार अनुसार भागेश्वर गाउँपालिकाले शिक्षा क्षेत्रमा योजना र विद्यालयहरुको लेखापरिक्षण, सामाजिक परिक्षण मापदण्ड अनुसार नै गरिरहेको छ। विद्यालयका प्रधानाध्यापकहरु संग करार सम्झौता गर्दै आईरहेका छौं। शिक्षा अधिकृत पौडेले भने, विद्यालयमा लग बुक पनि बनाउने गरिएको छ । प्रधानाध्यापकले शिक्षकहरुसंग पनि करार सम्झौता गर्दै आईरहेका छन । यसले सुशासन पारदर्शितसँगै शैक्षिक गुणस्तरका क्षेत्रमा धेरै नै टेवा पुगाएको छ।
विद्यालयहरुमा सूचना अधिकारीहरु तोकिएको उनले बताए। विद्यालय प्रति हुने कुनै पनि गुनासा, आवश्यक सूचना वा सल्लाह सुझावका लागि सुचना अधिकारीको व्यवस्था गरिएको उनले जानकारी दिए।
शिक्षा शाखाले सेवा प्रवाह गर्न डिजिटल प्रबिधि ईमेल ईन्टरनेट मार्फत सेवाको उपयोग गर्ने गरेको छ। विद्यालयबाट हुने माग वा सुचनाहरुको ईमेल मार्फत जवाफ पठाईने गरेको छ । सबैभन्दा सहज मोवाईल नम्बरबाटै धेरै सरसल्लाह र कामहरु हुने गरेको उनले बताए। कार्यालयसम्मै पुग्नु पर्ने काम बाहेक अरुसबै काम फोन र ईमेल मार्फत हुने गरेको उनको भनाइ छ।
कक्षा ८ को ग्रेडसीट अनलाईनमार्फत प्रकाशित गरिदै आएको उनले बताए। गत वर्ष एसइइमा कमजोर नतिजा आउदा गरिरहेका क्रियाकलाप पर्याप्त नभएको उनको भनाइ छ । जम्मा ३२ विद्यालय मध्ये ८ वटा मावि रहेको भागेश्वर गाउँपालिकाका दुई वटा विद्यालयको एसइइको नजिता शुन्य आएको थियो । कुनै विद्यालयको नजिता शुन्य आएपनि शिवशंकर माविबाट ८ जनामा ५ जना पास भएको उनले जानकारी दिए।
गणित र विज्ञान बिषयमा विद्यार्थीको नजिता कमजोर आएको उनले बताए। यी विषयमा कक्षा ८–१० विद्यार्थीहरुका लागि निःशुल्क अतिरिक्त कक्षाहरु पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो। विद्यालयहरुमा आईसीटीको पर्याप्त व्यवस्था नहुँदा पनि नतिजा कमजोर देखिएको उनको भनाइ छ ।
भागेश्वर गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखालाई गत आर्थिक वर्ष २०८१/०८२ मा ३६ लाख रकम विनियोजन गरिएको थियो। विनियोजित बजेटमा प्रधानाध्यापकहरुको बैठक, परिक्षा संचालन, विभिन्न तालिमहरु, शिक्षकका लागि नमुना विद्यालयहरुको अवलोकन भ्रमण, कक्षा ८–१० का विद्यार्थीहरु लाई लक्षित गरि निःशुल्क अतिरिक्त कक्षाहरु संचालन गरिएको उनले बताए।
चालु आर्थिक वर्ष २०८२/०८३ का लागि यस शाखाको कुल बजेट ३७ लाख रकम रहेको छ । यस वर्ष मागमा आधारित तालिम कार्यक्रमहरु लाई प्राथमिकतामा राखिएको उनले बताए। हालसम्म कक्षा ८ को परिक्षालाई मात्रै ध्यानमा राखिएको जानकारी दिदै उनले यस वर्षदेखि कक्षा ५ को परिक्षालाई बोर्ड परिक्षाका रुपमा सञ्चालन गर्ने योजना बनाएको बताए।
प्रश्नपत्रहरुमा कक्षा ४–८ सम्म एकरुपता दिने योजना रहेको पनि उनले बताए। विगत देखि पूर्व प्राथमिक शिक्षालाई महत्व दिई काठमाडौंलगायतका देशका विभिन्न क्षेत्रहरुबाट विज्ञहरु बोलाई सहजकर्ताहरु लाई तालिम दिने गरेको उल्लेख गर्दै उनले यस वर्ष पनि निरन्तरता दिईने बताए।
डडेल्धुरा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सात वटा विद्यालयको नतिजामा शून्य आएको थियो। राष्ट्रिय परीक्षा बोर्डको तथ्यांक अनुसार एसईईको नतिजामा जिल्लाका दुई नमूनासहित ७ वटा विद्यालय नील भएका थिए । भागेश्वर गाउँपालिकाका ८ वटा माविहरुबाट गत वर्षको एसइइ परिक्षामा १०९ जना सहभागी हुदा जम्मा ३० मात्रै उत्तिर्ण भएका थिए ।
शून्य नतिजा आउनेमा भागेश्वर गाउँपालिकाका तीन वटा विद्यालय रहेका थिए। शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका अनुसार भागेश्वर गाउँपालिकाको सरस्वती नमूना मावि बोगटा, कैलपाल मावि पत्रम र कैलपाल मावि पन्युट नील भएका थिए।
यस्तै, नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तर माथि उकास्न कक्षा ८–१० का विद्यार्थीहरुलाई तीन महिनासम्म निःशुल्क अतिरिक्त कक्षा संचालन गर्दै आईरहेको छ। नतिजा शुन्य आउने विषयहरु गणित, विज्ञान र अंग्रेजीका अतिरिक्त कक्षाहरु संचालन गर्दै आईरहेको शिक्षा अधिकृत रवि कुमार चौधरीले जानकारी दिए।
शिक्षाको गरणस्तर सुधारका लागि गत वर्ष देखी जनप्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पदाधीकारी, अभिभावक, विद्यार्थीहरुको भेला गराई शैक्षिक बहस, छलफलहरु संचालन गर्दै आएको उनले बताए। कमिकम्जोरी पहिल्याई र अभिभावकहरु लाई जिम्मेवार बनाउन शैक्षिक बहसको थालनी गरिएको उनले बताए।
यसले पालिकाले शैक्षिक क्षेत्रमा गरिरहेका सबै जानकारी सबैका अगाडी जानकारी गराईने भएकाले सुशासन, पारदर्शीता र सेवा प्रवाह बारे सबैलाई थाहा हुने उनको भनाई छ। नवदुर्गा गाउँपालिकामा रहेका २८ वटा विद्यालयहरु मध्ये हालसम्म १२ वटा विद्यालयमा अध्यापन तरिकाका चित्रसहित भित्ते लेखन गरिएको छ । यसले बच्चाहरु आकर्षित भएको उनको भनाई छ ।
उनका अनुसार विद्यालयहरुमा निरन्तर रुपमा लेखापरिक्षण, सामाजिक परिक्षण हुदै आएको छ। तर विद्यालयहरुमा सुचना अधिकारी भने हालसम्म तोकिएको छैन। शैक्षिक गुणस्तर बढाउन नयाँ नयाँ तरिकाहरु अपनाउदै आएको उनले बताए।
नवदुर्गा गाउँपालिकाका शिक्षा शाखामा गत आर्थिक वर्ष शिक्षकको तलबसहित २ करोड ३० लाख रकम थियो । चालु आर्थिक वर्षमा तलब बाहेक करिब एक करोड रकम प्राप्त भएको उनले बताए। विद्यालयको माग अनुसार आवश्यक तालिक, गोष्ठिहरु संचालन गर्दै आईरहेको उनले बताए।
गाउँपालिकाले मागका आधारमा शिक्षक दरबन्दि रिक्त भएका विद्यालयमा स्वंयसेवक शिक्षक, अतिरिक्ता कक्षा संचालनका लागि शिक्षकको व्यवस्था गर्न अनुदान उपलब्ध गराउदै आएको उनले जानकारी दिए।