छोराको निधनपछि गौरवको परिवार सहाराविहीन
सुदूरपश्चिम: विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग गर्ने उद्देश्य बोक्नुभएका धनगढी उपमहानगरपालिका–५ तारानगरका २३ वर्षीय गौरव जोशीको निधनपछि उहाँको परिवार सहाराविहीन भएको छ।
गत भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा छोराको निधन भएपछि बुवा वासुदेव जोशीसहित परिवार सहाराविहीन भएको हो। गौरवको कन्चटमा गोली लागेको थियो ।
विदेश पुगेर गर्ने कमाइले परिवार पाल्ने आफ्नो वचन पूरा नगर्दै सधैँका लागि अस्ताएपछि गौरवको परिवारका सदस्य शोकमा डुबेका छन्। कलिलै उमेरमा भएको निधनपछि गौरवका बुवा, आमा र दिदीका आँसु रोकिएको छैन। पुत्र शोकका कारण वासुदेव जोशी भेटेर समवेदना दिनेहरू समक्ष टोलाइरहनछन्। समवेदना दिन उहाँको निवासमा पुग्ने आफन्तजन, इष्टमित्र, साथीभाइले स्वर्गीय गौरवप्रति श्रद्धाञ्जली दिइरहँदा वासुदेवको पीडा सहजै महसुस गर्न सकिन्छ।
धनगढीको ऐश्वर्य विद्या निकेतन स्कुलबाट १२ कक्षा उत्तीर्ण भएपछि गौरव तीन वर्षअघि इञ्जिनीयर अध्ययन गर्ने योजनासहित काठमाडौँ पुगेका थिएँ। ७६वर्षीय वासुदेवले भने, “इञ्जिनीयर पढ्न चाहिने खर्चको जोहो गर्न धनगढीको घरलाई बैंकमा धितो राखेर ऋण लिने प्रक्रिया अघि बढाइसकेको थिएँ, तर छोराले बेलायत गएर कमाईसँगै पढाइ गर्ने योजनासहित भिसा (राहदानी) को पहल गरिरहेको थियो। भदौ २३ गते उसँगै हाम्रा सपनाको निधन भएको छ।”
बैतडीको दागेडाकेदार पुख्र्यौली घर भएका जोशी वन कार्यालयमा अस्थायी रूपमा कार्यरत रहँदा करिब ४५ वर्षअघि धनगढीमा बसाइँसराइ गरेका थिएँ। उनले वन कार्यालयको नोकरी छाडेर धनगढीमा फर्निचर उद्योग सञ्चालन गरी जीविकोपार्जनसँगै सन्तानको पढाइ खर्च जुटाएका थिए। अहिले उनको सामाजिक सुरक्षा भत्ता र आफू बस्ने घरको कोठा भाडाका पुग्ने बाहेक अन्य आम्दानीको स्रोत छैन।
गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा छोरालाई गोली लागेको खबर दोस्रो दिन बिहान मात्रै थाहा पाएको वासुदेवले बताए। उनले भने, “धनगढीमा रहेको सहोदर भाइको घरबाट खबर सुनाउन आफ्नो घरमा बिहानै चार–पाँच पुग्दा आफूसँगै परिवार झसङ्ग भयौँ, त्यसपछि अन्योल र अनिश्चितताको वातावरण बनेको छ ।”
छोराको आशमा पहिलो श्रीमतिको सहमतिमा उनले दोस्रो विवाह गरेका थिए। कान्छीबाट छोरा गौरव जन्मिनुभएको थियो । उनको छोरी निशा ‘एयर हेस्टेस’ अध्ययन सकाएर नोकरीको खोजीमा छिन्।
काठमाडौँको बानेश्वरमा कोठा भाडामा लिएर आमा र दिदीसँगै बस्दै आउनुभएका गौरवमा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने क्षमता थियो। भदौ २३ गतेको प्रदर्शनका क्रममा गौरवले सामाजिक सञ्जाल बन्द, विद्यमान बेथितिविरुद्ध तथा भ्रष्टाचार नियन्त्रणका विषयमा दिनुभएको प्रतिक्रिया भिडियो (श्रव्यदृश्य)मार्फत सार्वजनिक भएका थिए।
“जन्मेपछि मृत्यु अनिवार्य हुन्छ ,तर त्यसले कृति गरेर जाँदाको अर्थ र महत्त्व बेग्लै रहन्छ, बैतडीमा जन्मिएका सहीद दशरथ चन्दले कृति बनाएर गएजस्तै आफ्नो छोराले पनि कृति बनाएर गएको छ”, बुवा वासुदेवले भने। सरकारले समाजिक सञ्जाल बन्द गर्दा जेनजीहरूले प्रदर्शन गर्दैछन् भन्नेसम्म सूचना नपाउनुभएका वासुदेवले गोली लागेर छोराको मृत्यु हुन्छ भन्ने कल्पना पनि गरेका थिएनन्।
घटनापछि परिवारका अन्य सदस्यसहित उहाँ गौरवको अन्त्येष्टिका लागि धनगढीबाट काठमाडौँ पुगेका थिए। वासुदेवले थप्नुभयो, “काठमाडौँमा छोराको अन्त्येष्टिका दिनको शवयात्राले आफूलाई चिनायो, आफ्नै ठाउँमा भने छोराको फोटोसहितको यात्राले बजार परिक्रमा गरिदिएको भए मन केही शान्त हुन्थ्यो, तर कसैले गरेनन्।”
सरकारले जेनजी प्रदर्शनका क्रममा निधन भएका गौरव जोशीसहित सबैलाई सहीद घोषणा गर्दै जनही रु १५ लाख राहत उपलब्ध गराइसकेको छ। उहाँको स्मृतिमा धनगढीको कुनै सार्वजनिक ठाउँमा शालिक निर्माण गर्न जग्गा र आर्थिक सहयोगका लागि दाताको अपेक्षामा छन् वासुदेव। हालसम्म कतैबाट पनि सहयोग पाउन नसकेको उनले बताए।
शालिक निर्माणका लागि सार्वजनिक जग्गाको खोजीमा छु, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले विवाद नआउने खालको जग्गा खोज्नुस्, सहयोग गर्छौँ भन्ने अश्वासन दिनुभएको छ”, वासुदेवले भने। सहीद गौरवको स्मृतिमा धनगढीको पार्कमोडमा श्रद्धाञ्जलीसभा गरिएको छ।
जेनजी मार्ग र गौरव जोशीमार्ग नामाकरण
जेनजी प्रदर्शनपछि धनगढी उपमहानगरपालिका कार्यालयले कार्यालय नजिकै रहेको पार्कमोड आसपासको सडकलाई ‘जेनजी मार्ग’ नामाकरण गरेको छ। यसैगरी तारानगर टोलस्थित गौरव जोशीको घर अगाडिको सडकलाई टोलवासीको पहलमा ‘गौरव मार्ग’ नामाकरण गरिएको छ।