सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा कारागार घटनापछि पाँच कैदी अझै फरार, ८० जना पक्राउ

२०८२ कार्तिक १२, १२:४८ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरा कारागारमा गत भदौ महिनामा भएको आगजनी र तोडफोडपश्चात् भागेका ८५ जना कैदीबन्दीमध्ये अहिले पनि पाँच जना फरार रहेका छन्। कारागारका प्रशासक सन्तोषकुमार भट्टका अनुसार हालसम्म ८० जना कैदीबन्दी पक्राउ परेका छन् भने बाँकी पाँच जनाको खोजी कार्य जारी छ।

भदौ २५ गते बिहान ‘जेनजी आन्दोलन’का क्रममा कैदीबन्दीहरूले आफ्ना सरसामानमा आगो लगाई कारागारको ढोका फोडेर सामूहिक रूपमा फरार भएका थिए। त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले देशका विभिन्न स्थानबाट धेरैजना फरार कैदीलाई पक्राउ गरेको थियो।

१२७ जना कैदीबन्दी रहेको सो कारागारबाट ८५ जना भागेका थिए। अहिले कारागारमा १२२ जना कैदीबन्दी पुनः राखिएका छन्।

फरार पाँच जनामध्ये चार जना जबरजस्ती करणीसम्बन्धी र एक जना कर्तव्य ज्यान मुद्दाका कैदी हुन्। जबरजस्ती करणी मुद्दाका दुई जनाको ठेगाना बैतडी, एक–एक जनाको डडेल्धुरा र डोटी रहेको बताइएको छ। कर्तव्य ज्यान मुद्दाका फरार कैदी डडेल्धुराको परशुराम नगरपालिका–५ का हुन्।

त्यसैगरी, हाडनाता जबरजस्ती करणी मुद्दाका फरार कैदी डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का रहेका छन् भने अन्य फरारहरू बैतडीको पाटन नगरपालिका–८, सिगास गाउँपालिका–७ र डोटीको जोरायल गाउँपालिका–१ का हुन्।

कारागार प्रशासनले बाँकी फरार कैदीहरूको खोजी कार्य निरन्तर जारी रहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस