सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको रैथाने वाली कोदो खेती हुने क्षेत्र वर्षेनी घट्दै

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७६ साउन १८, ११:४६ रोशन भट्ट

सुदूरपश्चिमको रैथाने वाली कोदो खेती वर्षेनी घट्दै गएको छ। केही समय पहिले सुदूरपश्चिमका पहाडी जिल्लामा प्रशस्त मात्रामा फल्ने कोदो खेती विस्तार नहुँदा वर्षेनी क्षेत्रफल घट्दै गएको हो। कोदोका परिकारको विविधिकरण र बजारिकरणमा देखिएको समस्याले पनि किसानहरु कोदो खेती गर्न आकर्षित हुन सकेका छैनन्।

पहाडी जिल्लामा कोदो रोप्न मिल्ने खालको पाखो जमिन बाँझै रहेपनि कोदो खेती विस्तार र रैथाने बालीको संरक्षणमा सम्बन्धीत निकायले समेत खासै ध्यान नदिएको दावी गरिएको छ। प्रदेश र स्थानीय सरकारले समेत रैथाने वालीको खेती विस्तार र परिकार प्रवद्र्धनमा वेवास्ता गरेको आरोप लागेको छ। थोरै विउमा समेत धेरै उत्पादन गर्न सकिने कोदो विगतमा पाखो जमिनमा लगाउने गरिन्थ्यो।

तर आधुनिक विउविजनको विस्तार संगै खाद्यान्नको उपलब्धता सहजै रुपमा हुन थालेपछि कोदो खेती विस्तार हुन नसकेको हो। पहाडबाट तराईतीर बढ्दो बसाईसराईका कारण पनि कोदो खेतीको क्षेत्रफल विस्तार हुनुको सट्टा घट्दै गएको आशंका गरिएको छ। पहाडी  जिल्लामा ठुलो मात्रामाा जमिन बाझो रहँदा कोदो उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताए।

कोदोमा मानव स्वस्थ्यको लागि आवश्यक पर्ने पौष्टिक तत्व पाइने भएकाले यो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिदै आएको छ। कृषि विज्ञका अनुसार मधुमेह जस्ता रोगका विरामीहरुको लागि पनि उपयुक्त वालीको रुपमा चिनिएको छ। कोदोबाट रोटी, ढिँडो, जस्ता परिकार बाहेक अन्य परिकारहरुको विविधिकरण र त्यसको बजारीकरण हुन सकेको छैन्। तर कोदोको महत्व र फाईदा बारे उजागर गर्न सम्बन्धीत निकाय गम्भीर भएर नलागेको पाईएको छ।

कोदो खेती र परिकारको बजारीकरण हुन नसक्नु पनि विस्तार नहुनुको प्रमुख कारण मानिएको कृषि ज्ञान केन्द्र अछामका प्रमुख जनक बोहराले बताए। कोदोखेतीको सम्भावनालाई उजागर गर्दै यसबाट स्थानीयवासीको आजआर्जन बढाउनको लागि विस्तार तथा उत्पादनमा जोड आवश्यक रहेको छ।

कोदोबाट विभिन्न परिकारहरु वनाउन सके पर्यटक पनि तान्न सकिने विश्वास लिईएको छ। कोदोको उत्पादकत्व प्रति हेक्टर एक दशमलव दुई मेट्रिक टन हुने भएपनि खेती हुने क्षेत्रफल भने प्रत्येक वर्ष घट्दै गएको छ। हाइब्रिड जातको पाखे धान संगै अन्य वालीहरुको वजारीकरण भएसंगै कोदो खेती विस्थापीत हुदै गएको छ।

कृषिबाटै समृद्धिको नारा लगाईरहेको स्थानीय र प्रदेश सरकारले पनि कोदो संगै सुदूरपश्चिमका अन्य रैथाने वालीहरु प्रवद्र्धनमा ध्यान दिन आवश्यक रहेको  कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशी बताउँछन्। मानव स्वास्थयका लागि अत्यावश्यक आइरन र अन्य भिटामिन कोदोमा पाईन्छ।

विशेषत आइरन चक्की खाने गर्भवती महिलाका लागि कोदोका परिकार उपयोगी मानिन्छ। सर्वसाधारणलाई कोदोका परिकार वनाउन अभिप्रेरित गरी उत्पादकत्वमा बृद्धिसंगै पर्यटन प्रवद्र्धनमा जोड दिन सकिने कृषि विज्ञहरुको भनाई रहेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस