सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बुधवारदेखि खाद्यले धान खरिद गर्ने

फाइल फोटो
फाइल फोटो
२०८२ कार्तिक ११, ०६:१२ नारायण अवस्थी

धनगढी:  कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधवारदेखि धान खरिद गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीको ६ स्थानमा खरिद डिपो राखेर धान खरिद गर्ने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख दीपक थापाले धान खरिदका लागि केन्द्रबाट परिपत्र आइसकेको बताए। आजै जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको खरिद समितिको बैठकले बुधवारदेखि धान खरिद गर्ने निर्णय गरेको थापाले बताए।

सरकारले पहिलो चरणमा कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटो निर्धारण गरेको प्रमुख थापाले बताए। 'पहिलो चरणमा कैलालीका लागि ३५ हजार क्विन्टल कोटा तोकिएको छ। पछि कोटा थपिन सक्छ,' थापाले भने।

गत वर्ष भने कैलालीबाट ५५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण भएको थियो। खाद्यले धान खरिद गर्नुभन्दा अगाडि नै किसानले धान बिक्री गरेकाले ३४ हजार क्विन्टल धान मात्रै खरिद भएको थियो।

कैलालीमा विभिन्न ६ ठाउँमा धान खरिद डिपो राखिने कार्यालय प्रमुख थापाले बताए। उनले धनगढीको मोहनपुर, गौरीगङ्गा, जोशीपुर, भजनी, सत्ती, र टीकापुरमा डिपो राखेर धान खरिद गर्ने बताए।

नेपाल सरकारले गत साउन २६ गते नै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो। यो वर्ष मोटा धानको प्रति क्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा मूल्य कायम गरिएको छ। खाद्यले सरकारले तोकेकै मूल्यमा किसानबाट धान खरिद गर्नेछ। खाद्यले सरकारले निर्धारण गरेको मूल्यमै किसानबाट धान खरिद गर्ने छ। एक किसानबाट अधिकतम ५० क्विन्टल धान खरिद गर्ने र बैंक खाताबाट रकम भुक्तानी गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस