सुदूर नेपाललाई विश्वसँग जोड्दै

भजनीलाई मदन भण्डारी कप उपाधि

२०८२ कार्तिक ११, ०२:२० खबर संवाददाता

कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा जारी तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्टस् एकेडेमी भजनी नगर कमिटीले हात पारेको छ।

सोमबार साँझ सम्पन्न फाइनल खेलमा भजनीले घोडाघोडी क्लब सुखडलाई ३–० गोलले पराजित गरेको हो। पहिलो हाफमा गोलरहित खेल भए पनि दोस्रो हाफमा भजनीका खेलाडीहरूले लगातार तीन गोल गर्दै जित सुनिश्चित गरेका थिए।

विजेता मदन भण्डारी स्पोर्टस् एकेडेमी भजनीले ५२ हजार दुई सय ५० रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता घोडाघोडी क्लब सुखडले ३२ हजार २५० रुपैयाँमा चित्त बुझाएको छ।

तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडी नगर कमिटीको आयोजनामा सम्पन्न भएको हो।

समापन समारोहका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावतले विजेता टोलीलाई पुरस्कार तथा ट्रफी हस्तान्तरण गरे।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका संस्थापक नगरप्रमुख तथा नेकपा एमाले कैलाली जिल्ला सचिव ममताप्रसाद चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष हरिचन्द्र शाह लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, समापन समारोहमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, खेलप्रेमी, सङ्घसंस्था तथा नागरिकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस