कञ्चनपुर कारागारमा ३८८ कैदीबन्दी फिर्ता, ९९ अझै फरार
कञ्चनपुर: जेन जी आन्दोलनका क्रममा कारागार तोडफोड भएपछि फरार भएका मध्ये कञ्चनपुर कारागारका ३८८ कैदीबन्दी फिर्ता आएका छन्। जिल्ला कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता फर्किएकामध्ये ३७१ पुरुष र १७ महिला रहेका छन्। उनका अनुसार अझै ९९ कैदीबन्दी फरार अवस्थामा छन्। फिर्ता भएकामध्ये ६३ जनालाई प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको जानकारी पनि जोशीले दिएका छन्। हाल कारागारमा १४ जना भारतीय नागरिक कैद सजाय काट्दै छन् भने १७ भारतीय कैदी अझै फरार छन्।
स्वेच्छिक रूपमा तोकिएको समयभित्र नफर्किएका कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही हुने बताइएको छ। फरार कैदी वा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिहरू पनि कानुनी रूपमा दोषी मानिने र उनीहरूविरुद्ध समेत आवश्यक कारबाही अघि बढाइने जोशीले स्पष्ट पारे।
उनका अनुसार कारागार प्रशासनले पटक–पटक सार्वजनिक अपिल गरे पनि केही कैदी अझै सम्पर्कमा नआएकाले प्रहरीले फरार कैदीबन्दीको खोजी तथा पक्राउ कार्यलाई थप तीव्र बनाइएको छ।र