सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा धानको न्यूनतम समर्थन मूल्य निर्धारण

२०८२ कार्तिक ३, ०७:४६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा यस वर्षको धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। 

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित सूचनाअनुसार, मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार  ६२८ रुपैयाँ ३३ पैसा तोकिएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार जिल्लामा समर्थन मूल्य निर्धारण गरिएको हो।

प्रमुख जिल्ला अधिकारी ढकालले जारी गर्नुभएको सूचनाअनुसार कृषक, धानचामलका उद्योगी तथा व्यापारीहरुलाई तोकिएको मूल्यमा धान खरिद–बिक्री गर्न आग्रह गरिएको छ। पालिका क्षेत्रभित्र निर्णय कार्यान्वयन गराउनका लागि स्थानीय तहलाई निर्देशन दिइएको छ।

हाल जिल्लाभर धानबाली काट्ने, सुकाउने र थ्रेसिङ गर्ने चटारो चलिरहेको छ। किसानले समर्थन मूल्य समयमा नै निर्धारण  गरिएको भन्दै स्वागत गरेका छन्। स्थानीय किसान गहनु चौधरीले धानको समर्थन मूल्य निर्धारण गरिएको निर्णय स्वागतयोग्य रहेको बताए। पालिकास्तरमा सरकारी धान खरिद डिपो सञ्चालन गरेर तोकिएको मूल्यमा नै खरिद गरिदिएमा किसानलाई राहत मिल्ने उनको भनाइ छ। 
 

कमेन्ट लोड गर्नुस