कैलालीको गोदावरीका नगर प्रमुख भट्टले लिए नियम विपरीत भ्रमण खर्च
धनगढीः कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले नियम विपरीत भ्रमण खर्च लिएका छन्।
महालेखा परीक्षकको २०८०/८१ को प्रतिवेदनअनुसार नगर प्रमुख भट्टले नियम विपरीत काठमाडौँ गएको बेला गाडी भाडा र भ्रमण खर्च लिएका हुन्। नगर प्रमुख भट्टले सवारी भाडा र भ्रमण खर्चको नाममा तीन लाख ४४ हजार ८८० रुपैयाँ भुक्तानी लिएका हुन्। नगर प्रमुख भट्टले काठमाडौँ भ्रमणमा जाँदा सवारी साधन भाडामा लिएको र प्रत्येक पटक फुटकर खर्च र दैनिक भ्रमण भत्ता लिएको प्रतिवेदनमा उल्लेख छ। भ्रमण खर्च नियमावलीमा भ्रमण अवधिमा छुट्टै सवारी भाडा दिन सकिने व्यवस्था नभएको महालेखा परीक्षणले उल्लेख गरेको छ।
यसैगरी, नगरपालिकाले कर्मचारी र पदाधिकारीलाई भ्रमण खर्च भन्दै २७ लाख ८३ हजार २५५ रुपैयाँ भुक्तानी गरेको छ। स्पष्ट प्रयोजन र उद्देश्य बिना अधिकांश सात दिनको समयावधि राखी भ्रमण खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षकको प्रतिवेदनमा यस्तो खर्चको प्रभावकारिता सुनिश्चित नभएको समेत उल्लेख छ।
पदाधिकारी सुविधामा सवा एक करोड खर्च
गोदावरीले पदाधिकारीको सुविधामा एक करोड १७ लाख ५८ हजार ५०० रुपैयाँ खर्च गरेको छ।
आन्तरिक आयको आकार र कर्मचारी तथा पदाधिकारीको सुविधाबिच आवश्यक ताम्यता नमिलाई नगरपालिकाले चालु खर्च गरेको भन्दै महालेखाले मितव्ययिता अपनाउन सुझाव दिएको छ। नगरपालिकाले कर्मचारीलाई प्रोत्साहन भत्ताको नाममा ९१ लाख ५६ हजार ६२६ रुपैयाँ खर्च लेखेको छ भने पदाधिकारी तथा कर्मचारीको बैठकमा १४ लाख ६८ हजार ८५० रुपैयाँ खर्च गरेको छ।
यसैगरी, नगर प्रमुखको स्वकीय सचिव दिलिपकुमार साउँद र नगर उप(प्रमुखको स्वकीय सचिव धनबहादुर खड्कालाई नियम विपरीत सात लाख सात हजार ८५० रुपैयाँ भुक्तानी दिएको मध्ये चार लाख ९९ हजार ९५० रुपैयाँ अनियमित गरेको छ। सो खर्चलाई नियमीत गर्न महालेखाले निर्देशन गरेको छ।