पाटन र साफेंबगर नयाँ शहर : ९ बर्षमा एकिकृत विकास गुरुयोजना समेत बनाउँनै बाँकी
सुदूरपश्चिम प्रदेशमा रहेका दुई वटा नयाँ शहरको योजना निकै सुस्त गतिमा कार्यान्वयन भईरहेको छ। मध्यपहाडी लोकमार्गमा रहेका दुई वटा नयाँ शहरको योजना सुस्त गतिमा कार्यान्वयन भईरहेको हो। मध्यपहाडी लोकमार्गमा पर्ने बैतडीको पाटन र अछामको साफेंबगरमा नयाँ शहर योजना सुरु भएको ९ बर्ष सम्म एकिकृत विकास गुरुयोजना समेत बनाउँनै बाँकी छ। गत आर्थिक बर्षको सुरुवातमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पाटन र साफेंबगर नयाँ शहर योजना फेरी संघीय सरकारले नै खोसेपछि त्यसयता धेरै काम प्रभावित भएका छन्।
जस्ले गर्दा योजना लागु भएको ९ बर्ष वितिसक्दा समेत अहिले सम्म एकिकृत विकास गुरुयोजना बनाउँन बाँकी छ भने झनै गत बर्षमा स्वामित्व विवाद देखिएपछि थप काम हुन सकेको थिएन्। आर्थिक विकासको सम्भाव्यता, जमिनको उपलब्धता, जनसङ्ख्या तथा यातायातको सुगमताको आधारमा सरकारले २० वर्षीय गुरुयोजना तयार गरी पाटन र साफेबगरमा नयाँ शहर विकास गर्ने लक्ष्य राखेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढीका प्रमुख सुरेश वाग्लेले बताए। ‘अछाममा कार्यालयको भवन, गोरेठो बाटो र शवदाह गृहको निर्माण चालु अवस्थामा रहेको छ,’ उनले भने, ‘जग्गा व्यवस्थापनको प्रक्रिया पनि चलिरहेको छ, पाटन नयाँ शहर निर्माणका लागि पाटनमा चक्रपथ निर्माण, बसपार्क निर्माण, डम्पिङ साइटसम्म पुग्ने बाटो निर्माणको काम भइरहेका छन्।’ प्रत्येक शहरमा सडक, खानेपानी, खेलकुद मैदान, बसपार्क, मनोरञ्जन पार्क, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्र लगायत पूर्वाधारको विकास गरिने योजना रहेको उनले बताए। उनका अनुसार अहिले सम्म नयाँ शहरको एकिकृत विकास गुरुयोजनाको काम पनि सम्पन्न भएको छैन्।
नयाँ शहरमा एक÷एक लाख जनसङख्या बसोबास गराउन सक्ने गरी सम्पूर्ण सुविधा र पूर्वाधार निर्माण गरिने र नयाँ शहरको निर्माणपछि हिमाल, पहाडबाट तराई झर्नेहरूको सङ्ख्यामा कमी आउने र राजधानी लगायत ठूला शहरमा हुने बसाइ सराइ न्यून हुने विश्वास गरिएको थियो। तर ती शहरहरू निर्माणमै अझै दशकौँ लाग्ने देखिएकाले नयाँ शहर स्थापना हुँदा सम्म पहाड रित्तीने त होईन भन्ने आशंका पनि बढेको छ।