सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट सयपत्री फूलको माला बेलायत पठाइयो

२०८२ कार्तिक २, ०८:४४ खबर संवाददाता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित बङ्गरामा उत्पादित सयपत्री फूलको माला बेलायत पठाइएको छ। बेलायतमा रहेका नेपालीले तिहारका लागि माग गरेपछि सयपत्री फूलको माला बनाएर बेलायत पठाइएको हो।

तिहारका लागि बेलायतमा तीन सय थान माला पठाएको व्यावसायिक फूल खेतीमा सक्रिय रोशन साउँदले बताए। “फूलका लागि थुप्रै अर्डर आएको छ,” उनले भने, “फूल मात्रै र माला बनाएर बिक्री गर्दै आएका छौँ। यस वर्ष पहिलो पटक बेलायत पनि पठाएका छौँ।”

अछामको मेल्लेख गाउँपालिका–३ का साउँदसहित दशरथ साउँद र कपिलवस्तुका भास्कर पङ्गेनीले बङ्गरामा २२ कट्ठा जग्गा भाडामा लिएर विगत चार वर्षदेखि फूल खेती गर्दै आएका छन्। कृषि प्राविधिक तिनै जनाले मिलेर धनगढीसहित दाङ, बाँकेको कोहलपुर र कपिलवस्तुमा गरेर करिब नौ बिघा जमिनमा पुष्प खेतीलगायत अन्य कृषि बालीको खेती गरेका छन्।

तिहार नजिकिएसँगै सयपत्री फूल बारीमा ढकमक्क भइसकेको छ। यस वर्षको तिहारका लागि सयपत्री फूल तयार भइसकेको साउँदले बताए। उनले सयपत्रीको माला बनाउने, गाँस्न ६०÷७० जनाले रोजगारी पाइरहेको बताए।

यस वर्ष गत वर्षभन्दा तिहार छिट्टै परेको र फूल उत्पादन पनि राम्रो भएका कारण फाइदा हुने अपेक्षा गरेको साउँदले बताए। उनको दी डिभाइन एग्रो फार्म नर्सरी एन्ड रिसर्च सेन्टरबाट सयपत्री फूल प्रतिकिलो पाँच सय र माला प्रतिमाला एक सयदेखि दुई सय रुपियाँमा बिक्री भइरहेको छ।

 

कमेन्ट लोड गर्नुस