सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराबाट एक करोड २० लाखको स्याउ बिक्री

 तस्बिर : शेरबहादुर सार्की
तस्बिर : शेरबहादुर सार्की
२०८२ असोज ३१, ०३:२३ खबर संवाददाता

बाजुरा : बाजुराका किसानले स्याउ बिक्री गरेर एक करोड २० लाख आम्दानी गरेका छन्।

जिल्लाको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, खप्तड छेडेदह गौमुलका किसानहरु स्याउ उत्पादन गरी देशका विभिन्न सहरमा बिक्री गर्दै आएका हुन्।

किसानले यो वर्षमा पनि गाउँमै उत्पादन गरेको अर्गानिक स्याउ देशका विभिन्न सहरमा बिक्री गरेर झण्डै एक करोड २० लाख रुपियाँ आम्दानी गरेका छन्। एक वर्ष राम्रो स्याउ फल्ने र अर्को वर्ष अति कम फल्ने गर्छ। अधिल्लो वर्षमा स्याउ राम्रो उत्पादन भएको थियो भने यो वर्ष अलि त्योभन्दा कम स्याउ उत्पादन भएको किसान बताउँछन्।

गत भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो। तर बाटो बन्द भएकोले त्यो स्याउ समयमै बिक्री गर्न लागि बजारसम्म पु¥याउन नसकेपछि घाटा बेर्होनु परेको बुढीनन्दा नगरपालिका स्याउ किसान मानबहादुर रावतले बताए। गत वर्षमा पनि स्याउ पाकेर सकिने बेलामा बाटो खुल्यो। यो वर्षमा पनि त्यसै भयो । यता कर्णाली करिडोरको बाटो खुलेको भएर किसानलाई सहज भयो। त्यतिदेखि स्याउ बजारमा बिक्री गर्दा पनि यहाँका किसाने दुई चार लाख रुपियाँ आम्दानी गरेको रावतले बताए।

यो वर्षमा स्वामिकार्तिक खापर गाउँपालिकाका किसानले मात्र ४० लाख बराबरको स्याउ बिक्री गरेको स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखा प्रमुख विनोद शाहीले बताए।

बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा नगरपालिकाका स्याउ राम्रो उत्पादन हुन्छ। यहाँका बुढीगङ्गा, खप्तड छेडेदह, बडिमालिका र गौमुलमा स्याउ उत्पादन हुने गरेको भए पनि यहाँभन्दा बढी स्याउ मल्लो क्षेत्रमा हुन्छ। बुढीनन्दा, स्वामिकार्तिक र जगनाथ गाउँपालिकामा यहाँ अन्य स्थानीय तहभन्दा बढी राम्रो स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

बाजुरामा झण्डै पाँच सय चार हेक्टर जमिनमा स्याउ खेती हुने गरे पनि उत्पादन भने दुई सय हेक्टरमा मात्र हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए। यो वर्षमा बाजुरामा एक सय पचास मेट्रिक टन स्याउ उत्पादन भएको छ। गत वर्षभन्दा यो वर्ष अलि कम उत्पादन भएको हो। यो वर्ष बाजुराका स्याउ किसानले स्याउ बिक्री गरेर झण्डै एक करोड पचास लाखभन्दा बढी रकम प्राप्त गरेको साहनीले बताए।

 

कमेन्ट लोड गर्नुस