सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर १२ प्रतिशत जनसंख्यामा श्वासप्रश्वासको दीर्घरोग ‘सिओपिडी’

। फोटो स्रोत ।
२०७६ साउन १६, ०६:२४

नेपालमा करिब १२ प्रतिशत जनसंख्यामा श्वासप्रश्वासको दीर्घरोग सिओपिडी रहेको एक अनुसन्धानले देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ’जनसंख्यामा आधारित छनोटमा परेका नसर्ने रोगका भारका विषयमा गरेको देशव्यापी अध्ययनले सिओपिडीको समस्या ११ दशमलव ७ प्रतिशतमा रहेको देखाएको हो। देशव्यापी रुपमा सबै जनसंख्या र भौगोलिक अवस्था समेट्ने गरी परिषद्ले ४ वटा नसर्ने रोगका विषयमा अनुसन्धान गरेको थियो। सिओपिडी, मधुमेह, मिर्गौला र मुटु रोगका विषयको अध्ययनका लागि परिषद्ले १३ हजार २ सय जनामा यो अनुसन्धान गरेको थियो। 

परिषद्ले सबै क्षेत्रका जनसंख्यालाई समेट्ने सात वटै प्रदेशका ७२ जिल्लाका १३ हजार २ सय जनालाई नमुनाका रुपमा छनोट गरेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा चार वटा रोगमध्ये सबैभन्दा बढी सिओपिडीको समस्या ११ दशमलव ७ प्रतिशतमा त्यसपछि मधुमेहको ८ दशमलव ५, मिर्गौला सम्बन्धी रोग ६ प्रतिशतमा र मुटुरोग २ दशमलव ९ प्रतिशतमा रहेको पाइएको छ। अनुसन्धानमा श्वासप्रश्वास सम्बन्धी रोग सिओपिडीको भार सबैभन्दा कम गण्डकी प्रदेशमा ६ दशमलव शून्य प्रतिशत र सबैभन्दा बढी कर्णाली प्रदेशमा २५ दशमलव १ प्रतिशत भेटिएको छ।

यस्तै  प्रदेश १ मा ६ दशमलव २, प्रदेश २ मा १६ दशमलव ४, प्रदेश ३ मा ११ दशमलव ७, गण्डकी प्रदेशमा ६, प्रदेश ५ मा  ९ दशमलव ५, कर्णाली प्रदेशमा  २५ दशमलव १ र सूदुरपश्चिम प्रदेशमा  १४ दशमलव ३ प्रतिशत ओपीडिका विरामी भेटिएका छन्। 

सिओपिडी अर्थात क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज भनेको जीर्ण प्रकारको श्वासनली साँघुरिने रोग हो। सीओपीडी रोग लाग्नुको प्रमुख कारण धूमपान भए पनि वायु प्रदुषण, घरको धुवा, रसायानिक पदार्थ मिसिएको धुँवाको मुस्लोले यो रोग गराउँछ। त्यसैले लामो समयसम्म धूमपान गर्ने व्यक्ति, धुँवा तथा वायु प्रदुषणमा रहने व्यक्ति (ट्राफिक, इँटाभट्टा, सिमेन्ट कारखानामा काम गर्ने आदि) जोखिममा हुन्छन्।

यो रोगबाट जोगिन धूमपानदेखि टाढै रहनुपर्छ भने प्रदूषणबाट जोगिन आवश्यक छ। प्रदूषणबाट जोगिन बाहिरी वातावरणमा निस्कँदा मास्क लगाएर मात्र निस्कन चिकित्सकले सुझाव दिने गरेका छन्। यसका साथै ग्रामीण क्षेत्रमा दाउरा तथा अन्य धुवाँ निस्कने वस्तुवाट खाना पकाउने कारणले पनि यो रोगको जोखिम बढाइरहेको छ।

कमेन्ट लोड गर्नुस