कैलालीमा डीएसपी चन्दसहितका ८ जना प्रहरी पुरस्कृत
धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षकअ(डीएसपी) रणबहादुर चन्द समेतका ८ जना प्रहरीलाई पुरस्कृत गरेको छ।
अत्तरियामा डडेल्धुराका गौरव ऐरमाथि भएको हतियार प्रहारको घटनामा सक्रियता देखाएर आरोपीतहरू भारततर्फ भागिसकेको अवस्थामा पक्राउ गरेर ल्याएपछि प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले रेकर्डमा जनिनेगरि नगदसहित उनीहरूलाई पुरस्कृत गरिएको बताए ।अहोरात्र खटिएर उत्कृष्ट कार्य गरेवाफत प्रहरीहरू पुरस्कृत भएको उल्लेख गरे।
इप्रका मालाखेती र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गौरव ऐरमाथि धारिलो हतियार प्रहार गर्ने धनगढीमा गोब्रा सरकारका नाममा गुण्डागर्दी गर्ने भनिएका सन्नी भनिने भीम नेपालीसहितका १२ जनालाई भारततर्फ भागेको अवस्थामा पक्राउ गरेको थियो। भारतीय सीमावर्ती बजारबाटै पक्राउ परेका उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।