कैलालीको गोदावरीमा ज्यान मार्ने उद्योगमा संलग्न ११ जना पक्राउ
धनगढी: कैलालीको गोदावरीमा ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। असोज २६ गते गोदावरी-४ को एक होटेलमा खाना खाइरहेका डडेल्धुराको नवदुर्गा-२ का २१ वर्षीय गौरव ऐरलाई धारिलो हतियार प्रहार गरेका उनीहरूलाई प्रहरीले मङ्गलवार धनगढीबाट पक्राउ गरेको हो।
होटेलमा खाना खाइरहेका ऐरलाई धारिलो हतियारले प्रहार गरी उनको हातको औला काटिनुको साथै टाउको र घाटीमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते ऐरलाई तत्काल उपचारको लागि मायामेट्रो अस्पताल धनगढीमा पठाइएकोमा थप उपचारका लागि भारत लगिएको छ।
प्रहरी कार्यालय कैलालीबाट खटिगएको प्रहरी टोलीले भारत भाग्ने क्रममा ११ जनाको समूहलाई पक्राउ गरेको जनाएको छ। उनीहरूलाई धनगढी उपमहानगरपालिका-३ को नेपाल-भारतको सिमानाका रहेको त्रिनगर भन्सारबाट पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धनगढी-२ का २९ वर्षीय सन्नी भनिने भीम नेपाली, धनगढी-२ कै १८ वर्षीय अनुपम सिंह, कन्चनपुरको कृष्णपुर नगरपालिका-९ का २३ वर्षीय किरण महरा, धनगढी- २ बस्ने १८ वर्षीय मुस्कान सिंह पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कैलाली धनगढी-२ का २० वर्षीय बबिन सिंह, कन्चनपुरको कृष्णपुर-९ का २६ वर्षीय गोबिन्द बलायर, धनगढी- २ का २६ वर्षीय गोपाल भट्ट, धनगढी- ३ का १८ वर्षीय विशाल बोहरा, १८ वर्षीय प्रिन्स सिंह, कन्चनपुरको पुर्नवास-१० बस्ने ३२ वर्षीय दिनेश बिक र कन्चनपुरकै पुर्नवास-१० का ३२ वर्षीय अनिल बिक रहेको प्रहरीले जनाएको छ।