सुदूर नेपाललाई विश्वसँग जोड्दै

साढे चार हजारले लिए कतार भिसा सेन्टरबाट सेवा

। फोटो स्रोत ।
२०७६ साउन १६, १२:५१

गत असार ३ गतेदेखि नेपालमा कतार भिसा सेन्टरबाट काम सुरु भएको छ। अहिलेसम्म झण्डै साढे चार हजार जनाले सेवा लिएको सेन्टरका प्रवन्धक गौरव क्षेत्रीले जानकारी दिए। अहिले सेन्टरले वैदेशिक रोजगारीमा जाने कामदारहरुको मात्रै बायोमेट्रिक र स्वास्थ्य परीक्षणको काम गरिरहेको छ। बिजनेश र पर्यटक भिसामा जानेको सबै प्रक्रिया अहिले पनि नेपालमा रहेको कतारको दूतावासबाटै हुने गरेको छ। 

काम गर्न कतार जाने कामदारको बायोमेट्रिक र स्वास्थ्य परीक्षणका लागि यो केन्द स्थापना भएको हो। यसअघि कतार पुगिसकेपछि गरिने बायोमेट्रिक र स्वास्थ्य परीक्षण अब भिसा सेन्टरमार्फत हुनेछ। कामदारले कतार भिसा सेन्टरमार्फत नेपालमै बायोमेट्रिक र स्वास्थ्य परीक्षण गरेर जाने भएकाले यो प्रक्रिया कतारमा पुगेपछि गर्न पर्दैन। सेन्टरबाट दुई घण्टा भित्रमा सबै काम सकिने पनि क्षेत्रीले जानकारी दिए। अब यी प्रक्रिया नेपालमा पूरा भएपछि मात्रै नेपाली कामदार कतार जान पाउनेछन्। 

कतारले प्रमुख रूपमा कामदार आपूर्ति गर्ने श्रीलंका, बंगलादेश, भारत र पाकिस्तानमा भिसा सेन्टर स्थापना गरी सेवा दिन थालेको छ। यी देशमा खोलिएको भिसा सेन्टरको व्यवस्थापन गर्ने ठेक्का पाएको निजीस्तरको सेवा प्रदायकबाट कामदारसँग लाउन्ज फी भने लिइरहेका छन्। तर नेपालमा यो लाउन्ज सुविधा नै नभएको सेन्टरका प्रवन्धक गौरब क्षेत्रीले बताए।

लाउन्ज सुविधा विशेषगरी सेन्टरमा ‘अपोइन्टमेन्ट’ नलिएकाले लिने हुँदा बाहिर हल्ला भएजस्तो रोजगारीमा जाने कामदारबाट यो शुल्क लिने भन्ने तर्क सही नभएको उनको भनाई छ। लाउन्ज फीबापत भारतमा २५ सय भारु, बंगलादेशमा २९ सय टाका, श्रीलंकामा ६ हजार एलकेआर, पाकिस्तानको इस्लामवादमा ४८ सय ४० र कराचीमा ४७ सय १५ पाकिस्तानी रुपैयाँ लिइने गरेको छ। तर नेपालमा भने यो सुविधा छैन। 

भविष्यमा बिजनेश भिसा र टुरिस्ट भिसाको विषयमा पनि सेन्टरले काम गरेमा यो सुविधा हुन सक्नेछ। तर यो अनिवार्य भने होइन। यो सुविधा हुँदा पनि यसको प्रयोग गर्नैपर्छ भन्ने नभएको क्षेत्रीले बताए। कतारले भिसा सेन्टरबाट कतार जान खोज्ने कामदारलाई नै बढी फाइदा पुग्ने क्षेत्रीको दावी छ। भिसा सेन्टरमा बायोमेट्रिक र स्वास्थ्य परीक्षण गराए पछि कसको भिसा आयो या आएन, को सफल भयो या भएन भन्ने कुरा रोजगारदाता नै जिम्मेवार हुने र रोजगारदाताले नै खबर गर्ने उनले बताए। कतारको गृह मन्त्रालयले नेपाल, भारत, बङ्गलादेश, फिलिपिन्स, पाकिस्तान, नेपाल, इन्डोनेसिया र टयुनिसियाका भिसा आवेदकहरुको बायोमेट्रिक दर्ता तथा स्वास्थ्य परीक्षण सेवा सञ्चालनका लागि बायोमेट सर्भिसेसलाई सम्पूर्ण अधिकार दिएको छ। बायोमेटले नेपालको जिम्मेवारी मल्टिभर्स प्रालिलाई दिएको छ। 

कमेन्ट लोड गर्नुस