'भाइको बिहेको पार्टी नदिएको भन्दै गोदावरीका चौधरीको हत्या'
धनगढीः कैलालीको गोदावरी नगरपालिका- १० खमौराको शिविर टोलका ३५ वर्षीय शेरबहादुर चौधरीलाई छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले असोज २३ गते राति २ बजे घरको ढोकामा हान्दै मार्ने धम्की दिएका थिए।
मध्यरातमा घरमै आएर मार्ने भन्दै दिँदै ढोका तोड्न थालेपछि शेरबहादुर पछाडिको ढोकाबाट भागेका थिए। लोकेन्द्र र विकासको धम्की सुनेर राति २ बजे नै घरको पछाडिको ढोकाबाट भागेका शेरबहादुर असोज २४ गते घर नजिककै खोलामा मृत फेला परेका हुन्।
राति घरभित्रै मारिने डरले भागेका शेर बहादुरको शव घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताए।
मृतक शेरबहादुर चुलुराम डगौरा र आमा पुतली डगौराको जेठो सन्तान हुन्। उनको सात वर्षको छोरी छन् भने श्रीमतीसँग डिभोर्स भइसकेको छ। लक्की मल्ल र विकास मल्लबाट अत्तरियामा कुटाइ खाने रमेश चौधरी चुलुरामका कान्छो छोरा हुन्।
खेती किसानी गर्ने र ट्याक्टर चलाउने काम गर्ने शेरबहादुर परिवारकै जान्नेसुन्ने सदस्य हुन्। घरको जाँगर भएको र कमाइ गर्ने सदस्य गुमानुपर्दा चुलुराम डगौराको परिवार अहिले गहिरो शोकमा डुबेको छ।
'मल्लले बिहेको पार्टी नखुवाएको रिसिइवी साँधे'
गत बैशाख १७ गते मृतक शेरबहादुर चौधरीले आफ्नो कान्छो भाइको विवाह गराएका थिए। बिहेको भोजमा लक्की मल्लसमेत सहभागी थिए। तर उनले छुट्टै पार्टी नदिएको भन्दै कुरा सुनाउने गरेको चौधरीको परिवारले बताएको छ। बिहेमा राम्रोसँग पार्टी नदिएको भन्ने तुष मनमा पालेको मल्ल बैशाखयता बेलाबखत चौधरीको घरमा आइरहने मृतककी भाइ बुहारी सलिना चौधरीले बताइन्।
असोज २३ गते पनि लक्की मल्लले विनोद मल्ललाई साथमा लिएर चौधरीको घरमा आएको र आफ्नो श्रीमानलाई जबरजस्ती कुखुराको मासु पकाउन लगाएको सलिनाले दाबी गरिन। "२३ गते साँझ लक्की मल्ल र विनोद मल्ल हाम्रो घरमा आए, उनीहरूले जबरजस्ती मासु पकाउन लगाए। तर मासु नखाएरै दुबै जना बाइकमा चढेर गए," उनले भनिन्, "एकछिन पछि उनीहरूले मेरो श्रीमानलाई मासु लिएर आउनु भनेर फोनमै बोलाए। श्रीमान मासु लगेर गए, तीनै जनाले खोला किनारमा गएर पार्टी गरेछन्। अनि श्रीमानलाई नयाँ लुगा लगाउन लगाएर अतरिया लगेका हुन्।"
गाउँ नजिकैको खोलामा पार्टी मासु र रक्सी खाएर मल्ल दाजुभाइले रमेश चौधरीलाई अत्तरिया लगेको चौधरी परिवारको दाबी छ। अत्तरियाको एक डान्स बारमा लगेर लक्की मल्ल र विकास मल्लले मृतक शेरबहादुरका भाइ रमेशलाई कुट्छन्। झगडा हुँदा डान्स बार मालिकले उनीहरू निकालेको र सडकमा मल्ल दाजुभाइले रमेशलाई निर्घात कुटपिट गरेको मृतक चौधरी परिवारको दाबी छ।
लक्की मल्ल र चौधरीको घर एउटै टोलमा छ। दुबैको घर केही दुरीमा छ। दसैँको दिन लक्की मल्लको बुवा मृतक चौधरीको घरमा गएर रक्सी मागेर खाएका थिए। दसैँमा लक्कीको बुवाले सुरूमा रक्सी मागेर खाएको त्यसपछि तिमीहरू माग्नेको सन्तान हौ भनेर आफूलाई गाली गरेको मृतकी आमा पुतली डगौराले बताइन्।
मृतककी भाइ बुहारी सलिना र अन्य आफन्तका अनुसार बिहेको दिन राम्रो पार्टी नदिएको भन्दै लक्कीले मनमा तुष पालेर घटना घटाएको दाबी गरेका छन्।
मृतक शेरबहादुरको कुटपिटबाट ज्यान गएको दाबी
२३ गते राति लक्की मल्ल र विकास मल्लको ज्यान मार्ने धम्कीबाट डराएका शेरबहादुर चौधरी घरको पछाडिको ढोकाबाट भागेका थिए। उनलाई भाग्ने बित्तिकै मल्लसहितका मान्छेहरूले नियन्त्रणमा लिएको आशंका परिवारको छ। राति बेपत्ता भएका चौधरीको फोनमा बिहानसम्म फोन लागे पनि नउठेको सलिना चौधरीले बताइन्। उनले जेठाजुलाई घरबाट निस्किने बित्तिकै नियन्त्रणमा लिएर कुटपिट गरेर खोलामा फालेको प्रयाप्त प्रमाणहरू देखिएको बताइन। शेरबहादुरको शव फेला परेको ठाउँमा बाइक गएको र चिप्लेको निशान देखिएको बताइन्।
'शेरबहादुरको हात खुट्टा भाँचेर हत्या'
शेरबहादुर २३ गते राति २ बजे घरबाट बेपत्ता भएका थिए। उनको शव मोहना र ओलानी खोलाको दोभानमा भेटिएको थियो। धान काट्न खेतमा गएकी स्थानीय महिलाले शव देखेकी थिइन्। शेरबहादुरको अन्तिम संस्कार असोज २६ गते भएको छ। पोस्टमार्टमपछि असोज २५ गते परिवारले शव बुझेको थियो।
मृतकी फुपू लाहु चौधरीले शेरबहादुरको घाँटी शरीरका अन्य भागमा कुटपिट गरेको चिह्न देखिएको बताइन् यस्तै अर्की फूपू लक्ष्मीकुमारी डगौराले शेरबहादुरको दुबै पाखुरा र खुट्टा भाँचिएको देखिएको बताइन्। हात र खुट्टाको हड्डी भाँच्ने गरी कुटपिट गरेर आफ्नो भदुको हत्या भएको उनको दाबी छ।
मृतकी आमा पुतली डगौराले आफ्नो छोराको घाँटी पछाडि डुङ्गाले हानेको छाप देखिएको र निर्घात कुटपिट गरी छोराको हत्या गरिएको उनले बताइन्।
मृतक चौधरीको परिवार असुरक्षित
शेरबहादुरको मृत्युपछि चौधरी परिवारले थप असुरक्षित महसुस गरेको छ। मल्ल दाजुभाइ विरुद्ध किटानी जाहेरी दिएको चौधरी परिवारले लक्की मल्लको आफन्तबाट आफूहरूलाई धम्की आएको चौधरी परिवारको दाबी छ। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र परिवारको सुरक्षाको माग गरेका छन्। लक्की मल्ल र विकास मल्ल पहुँचवाला भएकाले न्याय नपाउने चिन्ता चौधरी परिवारको छ। जेलबाट छुटेपछि पनि रमेशलाई नछोड्ने भनिएकाले थप असुरक्षाको महसुस भएको उनीहरूको भनाइ छ।
घटनामा संलग्न भएको भन्दै पक्राउ परेका लक्की मल्ल र विकास मल्ल अहिले प्रहरी हिरासतमा छन्। प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ।