दुना टपरी बिक्रीबाट आकर्षक आम्दानी
दाङः घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ। छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकि उनका अनुसार यसबाट राम्रो आम्दानी भइरहेको छ।
वनबाट सालको पात ल्याउने र फुसर्दमा हातैले दुना टपरी गाँस्ने उनको अहिले दैनिकी बनेको छ। उनी घर खर्चका लागि यसैबाट पैसा जुटाउन सकेको बताउछिन। “पहिले आफूसँग पैसा नहुँदा अरुको भर पर्नुपर्दथ्यो, तर अहिले यसबाट आम्दानी हुन थालेपछि सामान्य खर्चका लागि अरुसँग माग्नु पर्दैन”, उनले भनिन। आचार्यका अनुसार दुना टपरी बिक्रीबाट मासिक ६÷७ हजार आम्दानी भइरहन्छ। आचार्यले गाउँघरमा एक सय वटा टपरीलाई पाँच सयमा बिक्री गरछिन। बजारमा बिक्री गर्दा भने अलिक सस्तो पर्ने उनको भनाइ छ। दुना भने एक सय वटालाई एक सय २० मा बिक्री गरिरहेकि छिन।
वनमा सालको पात टिप्न श्रीमानले पनि साथ दिनछन। “शरीर बुढो हुँदै गएको छ, अरु काम गर्न गाह्रो हुन्छ, फुर्सदको समयलाई सदुपयोग गर्ने यो राम्रो अवसर भएको छ, पैसा पनि आउने समय कटाउन पनि सजिलो हुने”, आचार्यले भनिन। उनले आफैले पैसा कमाउन थालेपछि औषधि किन्न र अरु सामान्य खर्चका लागि सहज भएको बताइन। विशेष गरी चाड पर्वमा दुना र टपरीको व्यापार राम्रो हुने उनको बुझाइ छ।
अचार्य जस्तै घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान खुशीराम चौधरी पनि दुना टपरी उत्पादन गर्र्दै आएका छन। ५१ वर्षिया शान्ति र ५७ वर्षिय खुशीरामले विसं २०६९ बाट दुना टपरी व्यवसाय गर्दै आएका हुन्। घरको काम सकेर बचेको समय यो व्यवसायमा उनिहरुको दैनिकी वित्ने गरेको छ।यहाँको साहारा दुना टपरी लघु उद्योगमा स्थानीय १० जना महिला दिदीबहिनीहरुले पनि नियमित रुपमा काम गर्दै आएका छन्।
“उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गरछिन्”, उनले भने, “अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ।” तर बजारीकरणका लागि त्यति समस्या नहुने गरेको बताइन। चौधरी दम्पतीले दुना टपरी बिक्रीबाट मात्रै मासिक १५ हजार कमाइरहेको उनको भनाइ छ। दुना टपरी आम्दानीको राम्रो स्रोत मात्र नभइ धार्मिक काममा महत्वपूर्ण मानिन्छ। टपरीको प्रयोग धेरै जसो विवाह, व्रतबन्ध, न्वारनलगायतका काममा बढी प्रयोग हुन्छ।