धनगढीको मालपोत रोड कुरूप
धनगढीः कैलाली उद्योग वाणिज्य संघको चुनावमा उम्मेदवार भएका व्यक्तिका प्रचार सामग्रीले मालपोत सडक कुरूप भएको छ। उम्मेदवारहरूले जथाभाबी प्रचारप्रसार सामग्री सडक र फुटपाथमा फाल्दा सडक क्षेत्र कुरूप भएको हो।
शनिवार बिहान सफा रहेको सडकमा बिहान १० बजे मतदान सुरु हुनासाथ फोहर गर्न थालिएको थियो। रुपेश स्वाँर र पुष्कर ओझा प्यानलमा उम्मेदवार भएका व्यक्तिका प्रचार सामग्री सडकमा छरपस्ट भएका छन्। सडकमा प्रचार सामग्रीको अलावा पानीको बोतलहरू, मिठाइको बट्टाहरू, फलफूलको बोक्रा र अन्य प्लास्टिकजन्य फोहर फालिएको छ।
धनगढी उपमहानगरपालिकाले जथाभाबी फोहर नफाल्न नगरवासीलाई आग्रह गर्दै आए पनि व्यवसायीहरूको नेतृत्व गर्न तम्सिएकाहरूले नै सडकमा जथाभाबी फोहर फाल्नु गलत भएको त्यहाँ उपस्थित सर्वसाधारणले बताएका छन्।