निर्वाचन भएको एक महिना नपुग्दै कैलाली जनपुस्तकालयका चार सदस्यको राजीनामा
धनगढीः चुनाव भएको एक महिना नपुग्दै कैलाली जनपुस्तकालयका सदस्यले राजीनामा दिएका छन्। भदौ २८ गते भएको निर्वाचनमा निर्वाचित भएका चार जनाले राजीनामा दिएका हुन्।
कार्यसमितिमा सदस्य पदमा निर्वाचित जयराज जोशी, शेरसिंह खड्का, टिआर पाठक र सुशीला भट्टले राजीनामा बुझाएका हुन्। चारै जनाले असोज २२ गते राजीनामा लेखेर बुझाएको जयराज जोशीले बताए।
भदौ २८ गते भएको निर्वाचनमा अध्यक्षमा दुई जना उम्मेदवार तयार थिए। अहिलेका अध्यक्ष शिवराज ओझालाई सर्वसम्मत बनाउन भूमिका खेले पनि आफूहरूलाई सदस्य पदको चुनावमा चारै जनालाई पराजीत गर्न अध्यक्ष ओझाले चलखेल गरेको जयराज जोशीले गुनासो गरेका छन्।
अध्यक्ष ओझाको चलखेल असफल पार्दै बहुमतले आफूहरू विजयी भए पनि पदाधिकारी चयनमा ओझाले आफूसँग बहुमत रहेको भन्दै पेल्ने काम गरेको जोशीले बताए। 'हामीले शिवराज ओझालाई सर्वसम्मत अध्यक्ष हुन सहयोग गरेकोमा उनले उल्टै हामीलाई कार्यसमितिमा आउन नदिन चलखेल गरे। सदस्यहरूबाटै उपाध्यक्ष र सचिवलगायतका पदाधिकारी चयन गर्दा एकलौटी र मनोमानी गरेका छन्,' जोशीले भने, 'अध्यक्ष ओझाको दम्किपूर्ण व्यवहार र रबैया देखेर हामी चार जनाले सामूहिक राजीनामा दिएका हौँ।'
चार जना सदस्यले आधा दर्जन आरोप लगाउँदै राजीनामा पत्र लेखेका छन्। उनीहरूले अध्यक्षले धम्किपूर्ण भाषा निर्देशन दिएको, आजीवन सदस्यहरूलाई नीतिगत छलफलमा नबोलाएको, लेखापरीक्षण नगराएरै चुनावी साधारण सभा गराएको, निर्वाचन प्रक्रियामा आर्थिक अपारदर्शिता भएको, मुख्य निर्णय पुस्तिकामा नभइ अर्को पुस्तिका प्रयोग गर्ने गरेको र उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र सह-सचिव मनोनयन गर्दा आफ्ना 'यस म्यानहरू' लाई छनोट गरेको जयराज जोशीदगायत चार जना सदस्यको आरोप छ।अध्यक्ष ओझाले आफूसँग बहुमत सदस्य छन् भन्दै पेल्न थालेकाले कार्यसमितिमा बस्न उपयुक्त नठानेर राजीनामा दिएको जोशीले बताएका छन्।
यता, नव निर्वाचित अध्यक्ष शिवराज ओझाले भने उहाँहरूलाई आफूले खेद्नुपर्ने कुनै कारण नै नभएको जिकिर गरेका छन्। उनले सर्वसम्मत पदाधिकारी चयन भएको र आफूले चलखेल नगरेको बताएका छन्। ओझाले निराधार आरोप लगाएर उहाँहरूले राजीनामा लेखेको भन्ने सुनेको तर पत्र भने हेर्न नपाएको बताएका छन्।