सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा निर्माणाधिन चार लेनको पुलमा ३५ प्रतिशत प्रगती

२०७६ साउन १५, ०२:११ खबर संवाददाता

ठेक्का सम्झौताको दुई बर्ष पुग्नै लाग्दा समेत महाकाली नदीमा निर्माणाधिन चार लेनको पक्की पुलमा ३५ प्रतिशत मात्रै प्रगती भएको छ। २०७४ भाद्र ७ गते पुल निर्माणका लागि ठेक्का सम्झौता भएकोमा अहिले सम्म ३५ प्रतिशत मात्रै प्रगती भएको हो। २०७७ भाद्र २२ गते भित्रै अर्थात तीन बर्षमा निर्माण सक्ने लक्ष्यका साथ २०७४ भाद्र ७ गते महाकाली पुलको ठेक्का सम्झौता भएकोमा दुई बर्षको अवधीमा ३५ प्रतिशत मात्रै प्रगती भएको हो। ठेक्का सम्झौता भएपछि सुरुवातको समयमा विभिन्न समस्याका कारण पुल निर्माणको कार्य अगाडी नबढ्दा अपेक्षाकृत रुपमा काम अगाडी बढ्न नसकेकोले प्रगती कम देखिएको योजना कार्यालयले जनाएको छ। 

तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा पुल निर्माणका लागि कुमार सिएसइसी जेभी ठेक्का पाएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलमा अहिले सम्म ३५ प्रतिशत प्रगती भएको महाकाली पुल योजना कार्यालय भीमदत्तनगरका इञ्जिनीयर शुलभ न्यौपानेले बताए। ‘पुलको ३० मुख्य पिल्लर मध्ये १२ वटाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘पुलसँगै ६ लेनको सडक तथा पहुँच मार्गमा स–साना पुलहरु पनि निर्माण भइरहेका छन्।’ केही समय मुआब्जा विवादका कारण सडक निर्माणमा अवरोध भएपनि अहिले मुआब्जाको सबै समस्या समाधान भएपछि सडक निर्माणले पनि गति लिएको उनले बताए। 

पुल निर्माणका लागि एक बर्ष अझै अवधी बाँकी रहेपनि योजना कार्यालयले थप एक बर्ष अहिले नै म्याद थप गरिसकेको छ। जस्ले गर्दा अवको दुई बर्षपछि मात्रै पुल निर्माण हुने देखिएको छ। आठ सय मिटर लम्बाइको चार लेनको पुल निर्माण भए महाकाली पारीको दोधारा–चादँनीलाई जोड्ने छ भने पश्चिमी क्षेत्रमा नेपाल–भारतको मुख्य नाकाका रुपमा विकास हुने अपेक्षा पनि गरिएको छ। पुल निर्माण भएपछि भारतीय औद्योगिक क्षेत्रसँग सहकार्य बढ्ने र व्यापारिक नाकाका रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ। 
 

कमेन्ट लोड गर्नुस