जेन्जी आन्दोलनको पीडादायी कथा : घरको एक्लो छोरा गुमाउनु पर्दा उत्तमकी आमा विक्षिप्त
धनगढी: राष्ट्रसेवामा खटिएका प्रहरी जवान उत्तमसिंह थापाको ज्यान, जेन्जी आन्दोलनको भीडले लिएको थियो। काठमाडौँको महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत उत्तममाथि आन्दोलनकारीले ‘डीएसपी हो’ भन्दै निर्घात कुटपिट गरेका थिए। भदौ २४ गते प्रहरीको बिट जलाइँदै गर्दा उनीमाथि अमानवीय रूपमा प्रहार भयो।
रगताम्य अवस्थामा भेटिएका थापाको सोही दिन मृत्यु भयो। उनले कर्तव्य पालनाको क्रममा प्राण गुमाए, यो घटनाले देशले एउटा जिम्मेवार प्रहरी मात्र होइन, एउटा समर्पित छोरा, प्रेमी, श्रीमान् र आमाको जीवनको अन्तिम सहारा पनि गुमायो।
दार्चुलाको लेकम गाउँपालिका–३ घुमखोलीका उत्तमसिंह थापाले ११ वर्षअघि नै बुबा हरिसिंह थापा गुमाइसकेका थिए । बुबाको निधनपछि आमासँगै दुई छोराको सहारामा बाँचेकी ६० वर्षीया आमा निर्मला थापाका लागि जीवनमा बारम्बार बज्रपात भयो । गत वर्ष २१ मंसिरमा कान्छो छोरा महेश थापाले धार्मिक कार्य सकेर घर फर्किने क्रममा भिरबाट लडेर ज्यान गुमाए । त्यसको नौ महिनापछि जेठो छोरा उत्तम पनि गुमेपछि निर्मला विक्षिप्त बनेकी छन्।
‘भाउजूको अवस्था एकदम नाजुक छ,’ देवर रुपसिंह थापाले भने, ‘कान्छो छोरा गुमाएको पीडा भुल्न नपाउँदै नौ महिनामै जेठो छोराको मृत्यु भयो । परिवारमा लगातार बज्रपात भयो। भाउजू निकै कमजोर हुनु भएको छ।"
गाउँकै विद्यालयबाट १२ कक्षा पास गरेका उत्तमलाई प्रहरी सेवा रोज्न उनका काका रूपसिंह थापाले सहयोग गरेका थिए । तीन प्रयासपछि २०७३ सालमा प्रहरी जवान भर्ना भएका उनी ६ महिना अघिसम्म धनगढीमा कार्यरत थिए। धनगढीबाट थापाको काठमाडौँ सरुवा भएको थियो।
उत्तमका काका रूपसिंह थापा दुई वर्षअघि मात्रै प्रहरी नायब निरीक्षकबाट सेवानिवृत्त भएका हुन्।
डीएसपी भन्दै भतिजालाई कुटीकुटी मारिएको भिडियो हेर्दा मुटु छियाछिया हुने गरेको उनले बताए। " यस्तो अमानवीय व्यवहार गर्नेहरूमाथि कानुनी कारबाही होस्, परिवारलाई न्याय मिलोस्। राज्यबाट पाउने सेवा र सुविधा परिवारले पाओस्,” थापाले भने।
उत्तमले ६ वर्षअघि जोगबुढाकी एक युवतीसँग प्रेमविवाह गरेका थिए । ती युवतीलाई थापाले धनगढीको कोठा बसाएका थिए।
लेकम-३ का वडा अध्यक्ष सुरेशसिंह थापाका अनुसार उत्तमको कान्छो भाइ महेशको मृत्युपछि उनकी आमा निर्मला थापा घरमा एक्लै बस्थिन। घरकै एक्लो छोरा उत्तमको समेत जेन्जी आन्दोलनमा ज्यान गएपछि निर्मलाको जीवन साहारबिहिन भएको अध्यक्ष थापाले बताए। उनले जेन्जी आन्दोलनको हिंसाले निर्मलाको वंश नै विनाश गरेको टिप्पणी गरे।
उत्तमको मृत्युले निर्मलाको घर र कोख मात्रै रित्तिएको छैन, जिन्दगीको सारा खुसीसमेत बिलाएको उत्तमका काका रुपसिंह थापाले बताए। उत्तमको मृत्युले उनले प्रेम विवाह गरेर घर भित्र्याउन नपाएकी युवतीको सपना र प्रेम एकैपटक खरानी भएको छ।