सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँकेका पाँच स्थानमा निषेधाज्ञा जारी

२०८२ असोज १९, १२:०९ रासस


बाँकेः जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। 

स्थानीय प्रशासनले शनिबार साँझ ७ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि डुडवा गाउँपालिका वडा नम्बर–६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर– १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर–१५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर–२३ को भज्जीपुरुवा, जङ्गलीसिंहपुरुवा र लोहरनपुरुवा तथा नरैनापुर गाउँपालिका वडा नम्बर–५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो। 

गत शुक्रबार दुर्गाको मूर्ति बिसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।यसैबीच, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले रासससँगको सङ्क्षिप्त कुराकानीमा अहिले स्थिति सामान्य रहेको बताए। शनिबार सबै राजनीतिक दल तथा स्थानीय प्रतिनिधि, नागरिक अगुवासहितको छलफल भएको जानकारी दिँदै छलफलमा घटनाको दोषीलाई पहिचान गरि कानुनबमोजिम कारवाही गर्ने, धार्मिक सद्भाव कायम गर्ने तथा प्रशासनको स्वीकृति विना जुलुस, सभा, सम्मेलन, र्याली आयोजना नगर्ने सहमति बताए। 

कमेन्ट लोड गर्नुस