सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको राजकाँडामा दैनिक ३० बढी पर्यटक बास बस्दै

फोटो : रमित पाण्डे
फोटो : रमित पाण्डे
२०८२ असोज १९, १०:४० कमल सावद

धनगढी : कैलालीको राजकाँडामा दैनिक बास बस्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। दशैँको समयमा राजकाँडामा रात बिताउने आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो।

दिउँसोको समयमा राजकाँडा पुगेर फर्किनेहरूको सङ्ख्यासँगै त्यही बास बस्ने पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ। जिल्लाको मोहन्याल गाउँपालिका–७ राजकाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको हो। प्राकृतिक सुन्दरतासँगै सडक र घरबास विस्तार भएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ। धुलिकोट होम स्टेका सञ्चालक मीनबहादुर बोहराले दैनिक औसतमा ३० पर्यटक राजकाँडामा बास बस्ने गरेको बताए। उनले भने, ‘अहिले दशैँको समयमा १५/२०, ३० जना दैनिक बास बस्ने गरेका छन्। अस्ति ५०÷६० जना हुनुहुन्थ्यो। हिजो ४९ जना बस्नु भयो। ५० जनामाथि भएपनि व्यवस्थापन गर्न पनि गाह्रो हुन्छ।’

सुदूरपश्चिमको प्रवेशद्वारा चिसापानीबाट छ किलोमिटर पैदलयात्रा गरी माथि उक्लिएपछि राजकाँडा पुगिन्छ। लम्कीबाट १६ किलोमिटरको दुरीमा मोटरसाइकलमा समेत राजकाँडा पुग्न सकिन्छ। बोहराले भने, ‘अहिले सडक राम्रो छ। अहिले पनि म मोटरसाइकलमा लम्की आएको छु। चिसापानीबाट ६ किलोमिटर हिडेर राजकाँडा पुगिन्छ। लम्कीबाट १६ किलोमिटरको दूरीमा छ। सडक भएकाले पनि होला, अहिले पर्यटक बढेका छन्। ट्याकिङ्ग गरेर नि धेरै आउने गरेका छन्। एकै दिनमा फर्किनेहरू पनि धेरै छन्।’

राजकाँडाबाट देखिने अपि र साइपाल हिमालको चुचुरोको सुन्दर दृश्यसँगै सूर्योदयको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्दछ। तिनै सुन्दर दृश्यका कारण कैलालीको मोहोन्याल गाउँपालिका–७ राजकाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको हो। बोहराले भने, ‘पाँच वर्ष अगाडि मैले नै राजकाँडामा होमस्टे सुरुवात गरेको हो। अहिले धेरै बास बस्ने होटेलहरू छन्। त्यो बेला कोही मान्छे बास बस्थेनन। अहिले प्रचार प्रसार भएको छ। बाटो पनि छ। केबुलकारको काम पनि हुँदैछ। पर्यटकको सङ्ख्या पनि बढेका छन्।’

चिसापानीबाट पैदलयात्राका साथै कैलालीको लम्कीबाट मोटर बाटोको समेत पहुँच विस्तार भएको हो। मोटर बाटोका लागि सडक सञ्जाल भए पनि धेरैजसो पर्यटक पैदलयात्रा गर्न रुचाउने गरका छन्। पहाडको उकालो पैदलयात्रा गरेर थाके पनि राजकाँडा पुगेपछि सबै थकान मेटिने पर्यटकहरू बताउछन्। राजकाँडा पुगेर हिमालको चुचुरोसँगै सूर्योदय हेर्न पाउँदा निकै आनन्द लाग्ने बोहराले बताए। तर, राजकाँडामा विद्युत्, फोन र इन्टरनेट नभएकाले घरबासका लागि कर्मचारी पाउन समस्या हुने गरेको बोहराले बताए। उनले भने, ‘पर्यटक बढेका छन्। २०/२५ जनाका लागि व्यवस्थापन गर्दै आएका छौ। तर, ५० जना पुग्नु भयो भने, समस्या हुने गरेको छ। होमस्टेमा कर्मचारी टिक्दैनन्। नेट छैन। फोन छैन। अहिले सबै नेट खोज्छन।’

पहिलेका वर्षको तुलनामा यो वर्ष राजकाँडा पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको मीनबहादुरले बताए। दशैं र तिहारको समय यहाँको मौसम र वातावरण उपयुक्त मानिने भएको आन्तरिक पर्यटकको आगमन बढेको उनले बताए। पूर्वाधार विकास, प्रचारप्रसार, पर्यटन प्रवद्र्धनका गतिविधि सञ्चालन भएसँगै आन्तरिक पर्यटकको आगमन बढेको हो। बोहराले थपे, ‘राजकाँडा पुग्ने कतिपय पर्यटक टेन्ट ल्याएरसमेत बास बस्ने गर्छन्। (होमस्टे) घरबासमा समेत पर्यटक बस्ने गर्दछन्। पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै व्यवसायमा पनि वृद्धि हुँदै गएको छ।’ राजकाँडा पुग्ने पर्यटकका लागि लोकल कुखुराको मासु, माछा तथा अन्य स्थानीय परिकारले सेवा गर्ने गरेको बोहराले बताए। उनले भने, ‘कालिज पनि पालेको थिए। अहिले छैन। एक्लै गर्न गाह्रो भयो। कर्मचारी पाउँदैन। अहिले लोकल कुखुरा, माछा र स्थानीय परिकारहरू छन।’

राजकाँडामा हेर्न हिमालका चुचुरोसँगै हात्ती, ढुङ्गा, रानीकुवा, धुलीकोट दरबार, गुफा, मन्दिर छन्।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस