बझाङमा सिनियर हटाइ जुनियरलाई कार्यालय प्रमुख बनाउन काँग्रेस निकट कर्मचारी युनियनको माग
धनगढी: नेपाल निजामती कर्मचारी युनियन, जिल्ला कार्यसमिति बझाङले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीलाई पदबाट हटाई काँग्रेस निकट कर्मचारी भानुभक्त जोशीलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिन सिफारिस गरेको छ।
युनियनका अध्यक्ष मेनका सिंहले हस्ताक्षर गरेको पत्र भदौ १३ गते सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार धनगढीमा पठाइएको तथ्य फेला परेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय बझाङमा निरन्तर दुई वर्षदेखि कार्यालय प्रमुखको जिम्मेवारीमा रहदै आएका जनस्वास्थ्य अधिकृत लालबहादुर धामीलाई अन्यत्र सरुवा गरि उक्त पदमा निजामती कर्मचारी युनियन बझाङका सल्लाहकार भानुभक्त जोशीलाई जिम्मेवारी प्रदान गर्न सामाजिक विकास मन्त्री मेघराज खड्कालाई पत्र पठाइएको छ।
'अतिगोप्य' भनेर सामाजिक विकास मन्त्रीलाई पठाइएको पत्र भदौ १३ गते लेखिएको र अहिले सार्वजनिक भएको हो।
नेपाली काँग्रेस निकट निजामती कर्मचारी युनियनले वरिष्ठ खोप अधिकृत सातौं भानुभक्त जोशीलाई प्रमुखको जिम्मेवारी दिन सिफारिस गरेको छ।
पत्रमा जोशीलाई “नेपाल निजामती कर्मचारी युनियन बझाङका सल्लाहकार समिति अध्यक्ष ” भनेर उल्लेख गरिएको छ।
कर्मचारी युनियनले प्रमुख बनाउन खोजेका जोशी लालबहादुर धामीभन्दा कनिष्ठ अधिकारी हुन्। धामी वरिष्ठ जनस्वास्थ्य अधिकृत आठौं हुन्।
तर, प्रशासनिक वृत्तका केही कर्मचारीहरूले यो सिफारिसलाई राजनीतिक प्रभावमा आधारित भएको आरोप पनि लगाएका छन्। उनीहरूको भनाइमा, जोशी नेपाली काँग्रेस निकट कर्मचारी भएकाले राजनीतिक प्रभावका कारण सिफारिस गरिएको हो।
यो विषयमा जोशीसँग कुराकानी गर्दा उनले अन्य जिल्लामा सातौं र छैटौं तहकोले कार्यालय प्रमुख चलाएको उदाहरण दिँदै बझाङमा आफूले हाकिम हुन् खोज्नु सामान्य कुरा भएको बताए। उनले तीन वर्षपछि सेवा निवृत्त हुन गइरहेकाले आफूले कार्यालय प्रमुख हुन पाउनुपर्ने दाबी गरेका छन्।
भदौ २३ र २४ गते जेन्जी आन्दोलन भएकाले कर्मचारी युनियन बझाङको माग सुनुवाइ भने भएको छैन।
यो विषयमा नेपाल निजामती कर्मचारी युनियन बझाङका अध्यक्ष मेनका सिंहसँग कुराकानी गर्दा उनले उक्त पत्र बारे अनविज्ञता प्रकट गरिन। उनले आफूले पत्रमा हस्ताक्षर नगरेको बताएकी छन्। तर, हामीले प्राप्त गरेको पत्रमा भने सिंहको नाम अगाडि हस्ताक्षर गरिएको छ।