धनगढी–दीपायल द्रुतमार्ग दशैँमा पनि सुचारु भएन
धनगढी : कैलालीको धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग दशैँको समयमा पनि सुचारु भएन।
धनगढीदेखि हाटखोलीसम्म सडक सञ्चालनमा रहेपछि चुरे क्षेत्रमा अवरुद्ध रहेको हो। धनगढी–खुटिया हुँदै विपीनगरसम्म जोड्ने छोटो दुरीका सडक दशैँको समयमा पनि मर्मत भएन।
कैलालीमा पर्ने स्याउले–हाटखोलीसम्मको सात किलोमिटर सडकको बेसलाइनको काम सम्पन्न भएको छ। हाटखोली क्षेत्रमा सडक कालोपत्र गर्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ। तर, कैलालीकै चुरे क्षेत्रको सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था छैन। धनगढी–खुटिया–बिपीनगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले कैलालीको चुरे क्षेत्र र डोटीको बबैना तिर समस्या रहेको बताए। उनले भने, ‘विपीनगरदेखि गड्सेरा तिर काम हुँदैछ। गड्सेरा तिर काम सकियो भने, बबैना तिर जाने हो। कैलालीमा पनि बाटो खुलेको छैन।’
हाटखोली क्षेत्रको सात किलोमिटर कालोपत्रको ठेक्का सम्झौता गत असार १४ गते दुई वर्षको म्याद सकिएपछि आगामी चैत २४ गतेसम्मका लागि म्याद थपिएको छ। २९ करोड ७१ लाख लागतमा सडक निर्माण गर्न २०७९ असार १६ गते कालिका वेदांशी जेभीसँग सम्झौता भएको थियो। सो सडक खण्डअन्तर्गत राजपुर–सलेना १४ र कैलालीको स्याउले–हाटखोली सात किलोमिटर गरी २१ किलोमिटर सडक कालोपत्र गर्ने काम चालु आर्थिक वर्षमै सम्पन्न हुने आयोजना कार्यालयले जनाएको दाबी छ।
धनगढी–खुटिया–बिपीनगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आर्थिक वर्ष २०७२÷७३ मा निर्माण सुरु भएको निर्माण सुरु भएको थियो। १८६ किलोमिटर लम्बाइको सो उक्त सडकको गत असार मसान्तसम्म ४१ किलोमिटर मात्रै कालोपत्र भएको आयोजना कार्यालयको तथ्याङ्कमा उल्लेख छ। सो सडक निर्माणको कुल लागत अनुमान सात अर्ब ५४ करोड ६३ लाख ८१ हजार रहेकामा हालसम्म एक अर्ब ३९ करोड ७१ लाख ७८ हजार खर्च भएको छ।
द्रुतमार्ग निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा १५ करोड विनियोजन गरेको छ। सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन हुन नसकेकाले धनगढी–खुटिया–बिपी नगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक निर्माणको प्रगति सुस्त छ। आयोजना सुरु भएको १० वर्षमा ‘ट्र्याक’ खोल्ने काम सकिनाका साथै ४१ किलोमिटर सडक कालोपत्र र एउटा पुल निर्माण गरिएको छ।