सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहरी विकास धनगढीका कागजपत्र जलेपछि २९ किलोमिटर सडकको ठेक्का अलपत्र

२०८२ असोज १७, ०७:१३ कमल सावद

धनगढीः कैलाली र कञ्चनपुरका चार स्थानीय तहहरूमा साढे २९ किलोमिटर नयाँ सडक कालोपत्रको ठेक्का प्रक्रिया अलपत्र परेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका तथा कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा २९ दशमलव ६९५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौताको प्रक्रिया थालिएकोमा अलपत्र परेको हो।

जेन–जी पुस्ताको प्रदर्शनका क्रममा क्षेत्रीय सहरी विकास कार्यालयका कागजपत्र जलेपछि ठेक्का सम्झौताको प्रक्रिया रोकिएको हो।

क्षेत्रीय सहरी विकास आयोजना, धनगढीले चार स्थानीय तहका ३३ वटा सडक कालोपत्रका लागि बोलपत्रको सूचना सार्वजनिक गरेको थियो। सूचनामा धनगढी उपमहानगरपालिकाका चार वटा सडकको छ दशमलव ४६५ किलोमिटर, गोदावरी नगरपालिकाका आठ वटा सडकको आठ दशमलव २३ किलोमिटर, भीमदत्त नगरपालिकाका १७ वटा सडकको आठ दशमलव १४ किलोमिटर र शुक्लाफाँटा नगरपालिकाका चार वटा सडकको छ दशमलव ८६ किलोमिटर कालोपत्र गर्ने उल्लेख गरिएको थियो।

तर, ठेक्का सम्झौताको प्रक्रियामा रहेका बेला जेन–जी पुस्ताको प्रदर्शनका क्रममा कागजपत्र जलेपछि प्रक्रिया रोकिएको हो। क्षेत्रीय सहरी विकास योजना कार्यालय, धनगढीले सम्झौताको चरणमा पुगेको समयमा प्रदर्शन भएको बताएको छ। प्रदर्शनका क्रममा कार्यालयमा आगजनी भएपछि कागजपत्र जलेका हुन्। कार्यालयले ठेक्का प्रक्रियाका कागजपत्र जलेकाले प्रक्रिया रोकिएको बताएको छ। दशैँ बिदापछि विभागको निर्देशन अनुसार प्रक्रिया अगाडी बढ्ने बताइएको छ।

क्षेत्रीय सहरी विकासले फुटपाथ, नालीसहितका आधुनिक सडक निर्माण गर्न ठेक्का सम्झौताका लागि बोलपत्रको सूचना सार्वजनिक गरिएको थियो।

एसीयाली विकास बैँक (एडीबी)को ऋण सहयोगमा क्षेत्रीय सहरी विकास मार्फत थप सडक कालोपत्रका लागि ठेक्काको प्रक्रिया थालिएको थियो। नेपालसहित भारतीय निर्माण कम्पनीहरू पनि बोलपत्रको प्रक्रियामा सहभागी भएका छन्। आर्थिक मूल्याङ्कनको काम पूरा नहुँदै कागजपत्र जलेका हुन्। आर्थिक र प्राविधिक मूल्याङ्कनपछि मात्र ठेक्का सम्झौता हुन्छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस