कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्गका पुलको काम अलपत्र
धनगढी : कैलाली–कञ्चनपुरमा हुलाकी राजमार्गमा पर्ने ठुला पुलहरूको काम अलपत्र परेको छ। बजेट अभावका कारण देखाउदै तीन पुल तथा दुई वटा कल्भर्टको काम अलपत्र परेको हो।
हुलाकी सडक आयोजना कार्यालयले धनगढीमा दुई वटा पुल निर्माण तोकिएको म्यादमा सम्पन्न नभएका बताएको छ। धनगढीमा निर्माणको चरणमा रहेका पुलको चार वर्षसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति पुगेको छ। धनगढी उपमहानगरपालिका–१ र २ जोड्ने र वडा नम्बर १ र ८ जोड्ने खोलामा २५÷२५ मिटर लम्बाइका दुई पुल ३० महिनामा सम्पन्न गर्ने गरी २०७८ फागुन १९ गते आठ करोड २३ लाख ७३ हजारमा मालिका निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो। सुरुमा निर्माण कम्पनीले ढिलाइ गरेको र पछिल्ला वर्षमा बजेट अभावमा ती पुल निर्माणकाे काम अलपत्र परेको हो। हुलाकी सडक आयोजना कार्यालय धनगढीले पुल निर्माणको काम रोकिएको बताएको छ। तिहारपछि पनि पुल निर्माणको काम सुरु हुनेमा योजना कार्यालय ढुक्क छैन।
त्यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने डोङ्डा नदीमा पुल बनाउन २०७९ असार ५ गते शान्ति निर्माण सेवासँग २०८२ पुसमा सम्पन्न गर्ने गरी ३३ करोड ५५ लाख ३३ हजारमा ठेक्का सम्झौता भएको थियो। तीन वर्षमा पुलको पिलर हाल्ने काम मात्रै भएको छ। सो पुलको ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ।
कञ्चनपुरको बेलौरी–दैजी खण्डको टिसिएन खोलामा आरसिसि बक्स कल्भर्ट बनाउने ठेक्का लागेको थियो। मालिका निर्माण सेवाले नै तीन करोड १२ लाख ६९ हजारमा २०८० वैशाख १७ गते ठेक्का लिएकोमा ९० प्रतिशत काम सम्पन्न गरेको छ।
कञ्चनपुरकै अम्खोइया खोलामा आरसिसी बक्स कल्भर्ट निर्माणका लागि २०८० साउन १ गते नीरज भौनेली श्रीयाज जेभीसँग तीन करोड २७ लाख ७६ ठेक्का लिएकोमा ७० प्रतिशत काम सम्पन्न भएको छ। यो ठेक्काको सुरु म्याद २०८१ असोज ३० गते सकिएको छ। निर्माणाधीन यी पुलको ठेक्काका लागि थप गरिएको म्याद पनि असारमा सकिएको आयोजना कार्यालय धनगढीले बताएको छ। जेनजी पुस्ताको प्रदर्शनका क्रममा कार्यालयमा रहेको कागजपत्र जलेकाले निर्माणमा झन समस्या भएको छ।