सुदूर नेपाललाई विश्वसँग जोड्दै

वीरगन्जको दसैँ मेलामा ’ग्याङ फाइ’: एकको मृत्यु, तीन जना पक्राउ

२०८२ असोज १५, ०७:२१ खबर संवाददाता

वीरगन्जः वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलवार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ।

पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवादका कारण झगडा चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका (सनाखत हुन बाँकी) युवकको मृत्यु भएको हो। प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

सोही विवाद राति हिंसात्मक रूप लिँदा गोल्डेनमाथि भाटोले प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल पु¥याइए पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

तर, अनुसन्धान जारी रहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ। डिएसपी बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुलेको छैन। नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको र घटनाबारे थप विवरण सङ्कलन गर्न सूक्ष्म अनुसन्धान सुरु गरिएको उनले बताए। मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।

कमेन्ट लोड गर्नुस