सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हावाहुरी पीडितको बिचल्ली, गैर पीडितलाई राहत

२०७६ साउन १४, ०७:१२ कमल सावद

धनगढी उप–महानगरपालिका क्षेत्रमा हावाहुरी पीडितलाई राहत वितरणका नाममा बदमासी भएको छ। उप–महानगरपालिका भित्र रहेका वडा कार्यालयले प्रहरी मुचुल्का सहित पठाएका पीडितहरुको नाम समावेश नगरी गैर पीडितलाई राहत वितरण गरेपछि बदमासी भएको आरोप लागेको हो। धनगढी उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडाका अधिकांश पक्की घर भएका र क्षती नभएका परिवारले राहत पाएपछि पीडितहरु विरोधमा उत्रिएका छन्। पीडितहरुले उप–महानगरपालिकाको वडा नम्बर १२ को कार्यालय घेराउ पनि गरेका छन्। पीडितहरुले वास्तवीक हावाहुरी प्रभावितको सूचिबाट नाम हटाइएको भन्दै बिरोध जनाएका हुन्। 
स्थानीय जैकला रोकायाले वडा अध्यक्षको बदमासीका कारण वास्तविक पीडितले राहत नपाएको बताईन्। धनी र पहुँच भएकाहरुलाई राहत दिइएको उनको आरोप छ। बृद्धि, एकल महिला र असहायहरु जे वास्तवीक हावाहुरी पीडित हुन्, तीनीहरुको वेवास्ता गरिएको गुनासो उनको छ। 

आंशिक क्षती नभएका घर–परिवारलाई प्रदेश सरकारको बजेटबाट प्रति परिवार पाँच हजार दरले वितरण भइरहेको छ। पहुच र वडा अध्यक्षका नजिकका ब्याक्तीलाई मात्र राहत दिइएको आरोप पनि लागेको छ। जुगेडाका स्थानीय युवा नवराज जोशीले हुरीले क्षती नभएका परिवारलाई पनि पीढित बनाएर राहत वितरण गरिएको बताए। उनले वडा अध्यक्षले कार्यकतालाई मात्र राहत वितरणको सूचि बनाएको बताए। धनगढी उप–महानगरपालिकालाई प्रदेश सरकारले हुरी पीडितका लागि  राहत विवरण गर्न एक करोड २७ लाख ६५ हजार दिएको थियो। प्रतिपरिवार पाँच र १० हजारका दरले राहत वितरण गर्न कार्यविधि बनाइएको छ। तर घरमा क्षती नभएका, पक्कि घर भएका र राजनीतिक पहुच भएकाहरुले राहत पाएको स्थानीय हसिना भट्टले बताइन्। जेठ २३ गतेको हुरीका कारण घरमा पूर्ण क्षती भएपछि स्थानीय नेताहरुले राहत दिने आश्वासन दिएको भएपनि अहिले नपाएको उनको दुखेसो छ। एकै परिवारका चार जनाले राहत पाएका उनको तर्क छ। 

गत जेठ २३ गते गएको हावाहुरीका कारण धनगढी उप–महानगरपालिकामा मात्र दुई हजार पाँच सय ५० घरमा आंशिक क्षती र तीन घरमा पूर्ण क्षती भएको तथ्याङक थियो। पछि उप–महानगरपालिकाले पीडितहरुको संख्यामा बृद्धि गरेको थियो। उप–महानगरपालिका वडा नम्बर १२ मा मात्र ४ सय ६४ परिवारलाई राहत वितरण हुदैछ। एक हजार नौ सय बढि परिवारको क्षती भएको विवरण वडा कार्यालयले पठाएको थियो। अस्थायी प्रहरी पोष्ट जुगेडाको मुचुल्का सहित वडा कार्यालयले उप–महानगरपालिकालाई पठाएको वडा सचिव भुवन खत्रीले बताए। एक हजार नौ सय पाँच परिवारको सूचि राहतका लागि पठाइएकोमा संसोधन गर्दा छुटेको हुन सक्ने उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेश प्रसाद जोशीले बताए। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस