सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौलीमा विधुर र असहाय भत्तालाई निरन्तरता

२०७६ साउन १४, ०६:४९ खबर संवाददाता

बैतडीको मेलौली नगरपालिकाले चालु आर्थिक बर्षमा पनि विधुर भत्ता र असहाय बालबालिका भत्तालाई निरन्तरता दिने भएको छ। चालु आर्थिक बर्षको बजेटमा विधुर भत्ता र असहाय बालबालिकाको भत्ताका लागि रकम विनियोजन गरेको नगरपालिकाका सूचना अधिकारी प्रेम बिष्टले जानकारी दिए। चालु आर्थिक बर्षमा ५ सय थप गरेर भत्ता दिने उनले बताए। 

‘गत आर्थिक बर्षमा नगरपालिकाभरीका विधुर पुरुषहरुलाई मासिक एक हजारका दरले भत्ता दिने गरिएको थियो भने चालु आर्थिक बर्षमा मासिक एक हजार ५ सयका दरले भत्ता दिईने छ,’ उनले भने, ‘यस्तै आमा बुवा दुवै नभएका असहाय बालबालिकाहरुलाई पनि मासिक एक हजार ५ सयका दरले भत्ता वितरण गरिने छ।’ असहाय बालबालिकाहरुका लागि पनि चालु आर्थिक बर्षमा ५ सय भत्ता थप गरिएको बिष्टले बताए।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि बनाएर आन्तरिक श्रोतबाट भत्ता दिँदै आएको नगरप्रमुख कृष्णसिंह नायकले बताए। गत आर्थिक बर्षमा ९७ जना विधुर पुरुष र ११ जना असहाय बालबालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको मेलौली नगरपालिकाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस