सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनियमितताको आरोपमा  छानबिन समिति गठन

२०८२ असोज १३, १२:४२ रासस

काठमाडौंः सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई अनियमितताको आरोपमा जिम्मेवारीबाट हटाउँदै छानबिन समिति गठन गरिएको छ। 

सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा, अनावश्यक दुःख हैरानी दिएको विषयमा उनीहरु विरुद्ध उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार जिम्मेवारीबाट हटाएको हो। कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट भौतिक पूर्वाधार तथा यातायातकमन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो। त्यसलगत्तै मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मबारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिनुभएको थियो। 

मन्त्री घिसिङले उक्त कार्यालयमा भइरहेको अनियमितता र त्यसमा सङ्लग्न कार्यालय प्रमुख, लेखापाल एवम् अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्नुभएको छ। छानबिन समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ। समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन अनुसन्धान गर्ने, कारबाहीका लागि सिफारिस गर्नेलगायतका कार्यदेश दिइएको छ। 

कमेन्ट लोड गर्नुस