दशैं बिदालाई सिर्जनात्मक बनाउँदै शिक्षक
टीकापुरः वडा दशैंको चहलपहल गाउँघर तथा सहर सबैतिर छाएको छ।
विद्यालयमासमेत दशैं तथा दिपावली गरी एक महिना बिदा छ। यतिबेला बिदाको समयलाई सदुपयोग गर्न शिक्षकहरु करेसाबारीमा काम गर्ने, लामो समयपछिका योजना गर्ने काममा व्यस्त देखिन्छन्। एक महिनाको लामो बिदालाई सदुपयोग गर्न र उत्पादनमूलक बनाउन कैलालीका शिक्षकहरु विभिन्न काममा व्यस्त देखिन्छन्। हिमालय मावि घियाका प्रधानाध्यापक बुद्धिराम चौधरी एक महिनाको बिदामा करेशाबारीमा काम गर्ने, विभिन्न जीवनपयोगी पुस्तक पढेर समय बिताउने योजनामा छन्।
'अघिपछि भनेजस्तो समय पाइदैन, यो समय धानबाली स्याहार्ने र तरकारी रोप्ने समय हो, खेतबारीमा व्यस्त हुनेछु', उनले भने, 'त्यसबाहेक नयाँ पुस्तकहरु पढ्ने तयारी छ। साँझ बिहान अध्ययनका लागि समय छुट्याएको छु।' पद्मा आधारभूत विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर चौधरी बिदालगत्तै विभिन्न तरकारीका बेर्ना उत्पादन गर्ने र बिक्री गर्ने काममा व्यस्त हुन्छन्। उनका बारीमा विभिन्न तरकारीका बेर्ना बारीभरि देख्न सकिन्छ। 'मैले विगतदेखि नै तरकारीका बेर्ना उत्पादन र बिक्रीको काम गर्दै आएको छु', उनले भने, 'यो एक महिना मेरा लागि पर्याप्त समय हो।
'यो समयमा तरकारीका बेर्ना बिक्री पनि राम्रो हुन्छ । म दिनभरिजसो बारीमै व्यस्त हुन थालेको छु।' बेर्ना बिक्रीबाट राम्रो आम्दानी हुने गरेको र बिदाको समय पनि सदुपयोग हुने उनी बताउछन्। 'थोरै जग्गामा पनि राम्रो आम्दानी हुने गर्छ', उनले भने, 'घरमा पनि हरियो सागपात सजिलै खान मिल्ने भएकाले आनन्द लाग्छ।'
कालिका आधारभूत विद्यालय चौगुर्दीका प्रधानाध्यापक कम्मानसिंह बोहराले बिदालाई विद्यार्थीको सिकाइसँगै बिताउने योजना बनाउनु भएको छ। उनले हरेक आइतबारका दिन कक्षा ४ र ५ का विद्यार्थीलाई विद्यालयमा पढ्न बोलाएका छन्। 'घरमा बस्दा विद्यार्थी पढाएका कुरा विर्सने भएकाले पुनर्ताजकी भइराखोस् भन्ने उद्देश्यले सातामा एक दिन विद्यार्थीलाई बोलाउने गरेको छु', उनले भने, 'नभए साना कक्षाका बालबालिका पछि सबै बिर्सिएर आउने समस्या हुन्छ। एक साताका लागि गृहकार्य दिने, पढेर आएका कुरा पुनरावलोक गर्ने गरेको छु।’
जनप्रकाश आधारभूत विद्यालय बाघमाराका प्रधानाध्यपक रघुनाथ उपाध्याय पनि नियमित अभ्याससँगै करेसाबारी निर्माण गर्ने, विभिन्न हिउँदे तरकारी उत्पादन गर्ने योजनामा छन्। 'खेतबारीमै परिवारसँगै काम गरेर धेरै समय परिवारसँगै बिताउने योजना छ', उनले भने, 'अध्ययनलाई पनि उत्तिकै जोड दिने तयारी गरेको छु।' खाली समयलाई सही सदुपयोग र उत्पादनमूलक बनाउन अधिकांश शिक्षकहरु करेसाबारी निर्माण र तरकारी उत्पादनमा लाग्ने गरेका छन्।
यसरी खाली समयलाई सही सदुपयोग गर्न सके व्यस्त हुनुका साथै अन्य विविध लाभ लिन सकिने टीकापुरका शिक्षा अधिकृत नरेश अवस्थीको भनाइ छ। 'यो समय विद्यार्थी, शिक्षक दुबैले सदुपयोग गर्नुपर्छ, संस्कार संस्कृतिबारे ज्ञान लिँदै, दिँदै रमाइलोसँग चाडपर्व मनाउनुपर्छ', उनी भन्छन्, 'योसँगै तरकारी बारी, सामाजिक काम, अध्ययन, सिर्जनात्मक कार्यमा व्यस्त रहन सकिन्छ।'