सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंमा खानपान: स्वादसँगै स्वास्थ्यप्रति सचेत रहन चिकित्सकको सुझाव

कृत्रिम बौद्धिकता प्रयोग गरी तयार गरिएको तस्बिर
कृत्रिम बौद्धिकता प्रयोग गरी तयार गरिएको तस्बिर
२०८२ असोज १२, ०१:४७ नारायण अवस्थी

धनगढीः यो नेपालीहरूको महान् चाड दशैंको समय हो। नेपालमा दशैं धुमधामसँग १५ दिनसम्म मनाइन्छ। धार्मिक आस्थासँगै सामाजिक र सांस्कृतिक महत्व बोकेको यो पर्वमा परिवार तथा आफन्तसँग भेटघाट, मान्यजनबाट टीका–आशीर्वाद ग्रहण र मीठा परिकार खाने प्रचलन रहँदै आएको छ । तर, चिकित्सकहरूका अनुसार दशैंमा हुने अनियन्त्रित खानपानले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ । तसर्थ दशैं र तिहारमा खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूले बताएका छन्।

मासुजन्य परिकारको सन्तुलिन सेवन
दशैंमा तेलमा तारेको र मासुजन्य खाने कुराको उपभोग अत्यधिक हुने गर्छ। मांसाहारी व्यक्ति र परिवारमा दशैंमा हरेक दिन मासु खाने गरिन्छ। अरुबेला भन्दा बढी मासुजन्य परिकार पकाइने र खाने परम्परा भएकाले दशैंमा अत्यधिक मासुको सेवन गरिन्छ। मासुमा बोसोको मात्रा बढी हुने भएकाले यसलाई तेल–मसला प्रयोग गरी पकाउँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरूको चेतावनी छ ।

विशेषगरी उच्च रक्तचाप, मधुमेह, मुटुरोग, बाथजस्ता दीर्घरोग भएका बिरामीका लागि मासुको अत्यधिक सेवन जोखिमपूर्ण हुने डडेल्धुरा अस्पतालकी कनसल्टेन्ट फिजिसियन डाक्टर हेमा जोशीले बताइन्। उनले चिल्लो र पिरो कम हालेर राम्रोसँग पकाएको मासु सेवन गर्नुपर्ने बताएकी छन्। 'दशैंमा खानपानमा ध्यान दिन सकिएन भने स्वास्थ्य समस्या देखा पर्ने जोखिम हुन्छ। रातो मासुको अत्यधिक प्रयोग गर्न हुन्न भने दिनहुँ मासु नखाएर दोस्रो तेस्रो दिनपछि मासु खानु उपयुक्त हुन्छ,' उनले भनिन्, 'मासु खाँदा हरियो सागपात र सलाद खानुपर्छ। दीर्घ रोग भएको व्यक्तिले मासु खाँदा निकै ध्यान दिनुपर्छ। अत्यधिक सेवनले स्वास्थ्यमा हानी हुन्छ।'

चाडपर्वको अवसरमा अनियमित समयमा बारम्बार खाने, बासी खाना भण्डारण गर्ने र बढी तेलमा पकाइएका परिकार सेवन गर्ने प्रचलन छ । यसले गर्दा अपच, कब्जियत, पखाला र ग्यास्ट्रिकसम्बन्धी समस्या बढ्ने चिकित्सकहरू बताएका छन्। उनले स्वादसँगै स्वास्थ्यमा समेत ध्यान दिनुपर्ने सल्लाह दिएकी छन्।

दशैंमा चिसो पेय, सिसाको डिब्बाको अचार, कार्बोनेटेड पेयपदार्थ र बढी नुन–चिनी प्रयोग हुने भएकाले रक्तचाप, मधुमेह र ग्यास्ट्राइटिसको जोखिम बढ्ने डाक्टर जोशीले बताइन्। उनले चिसो पेय पदार्थ, प्याकेजिङ गरिएको  खानेकुरा र तेलमा तारेको र पोलेको रातो मासु सेवनका सावधानी अपनाउन सुझाव दिएकी छन्।
यस्तो छ चिकित्सकको सुझाव
मासु सेवन गर्दा छाला फालेको मासु प्रयोग गर्नु स्वस्थकर हुने डाक्टर जोशीले बताइन्। उनले रागा र खसीको रातो मासु भन्दा कुखुरा र माछाको सेतो मासु स्वास्थ्यका लागि लाभदायी हुने बताइन्। 'मानिसले मासु मात्रै होइन कि दैनिक भोजनमा सागसब्जी र फलफूल अनिवार्य रूपमा समावेश गर्नुपर्छ। तेल, नुन र चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ भने रक्सी सेवन  पनि गर्नु हुन्न।'

दशैंमा मासु र मीठा परिकार खान सकिए पनि मात्रा र संतुलनमा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ । सन्तुलित भोजन, मर्यादित सेवन र नियमित शारीरिक गतिविधि गरेर दशैं मनाउनुपर्ने सुझाव दिइएको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस