सुदूर नेपाललाई विश्वसँग जोड्दै

पचली भैरवको जात्रा समापन

२०८२ असोज १२, ०१:३८ रासस

 

काठमाडौँः यस वर्षको पचली भैरव जात्रा विधिपूर्वक सम्पन्न गरिएको छ। जीवितदेवी कुमारीलाई असोज शुक्ल पञ्चमीको राति भैरवको दर्शन गराएपछि शुक्रबारदेखि सुरु भएको जात्रा समापन भएको हो। 

भैरवको दर्शन गराउँदा कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वासअनुसार हनुमानढोकामा लगेर कुमारीलाई पचली भैरवको दर्शन गराइएको हो। कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौंँ महानगरपालिका–१२ स्थित पचली पीठबाट विशेष बाजागाजासहित भैरवलाई हनुमान ढोका ल्याइएको थियो।चित्रकारले घ्याम्पोमा भैरवको विम्ब बनाएर पचलीबाट सुरु गरिएको भैरवको खटलाई नगर परिक्रमा गराइँदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको घुइँचो लागेको थियो।

यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो।विभिन्न किसिमका नकारात्मक तथा खराब शक्तिबाट नागरिकलाई संरक्षण गर्ने उद्देश्यले पचली भैरवलाई टेकुमा स्थापना गरिएको काठमाडौँ महानगरपालिका–१२ वडाध्यक्ष एवं जात्रा व्यवस्थापन समिति संयोजक बालकृष्ण महर्जनले जानकारी दिए। कला र संस्कृतिले सजिएको काठमाडौँमा नेवार समुदायले काठमाडौँ उपत्यकाको सुरक्षाका लागि भैरव जात्रा गरिँदै आइएको छ।


 

कमेन्ट लोड गर्नुस