प्रहरीद्वारा कारागारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी
काठमाडौँ: प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरिमा रहेका कारागारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ।
‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र छ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठलगायतका चाडपर्वको समयमा सुरक्षाका मामलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।
उनले भने, “भागेका कैदीहरूमा कोही चोरडाकाहरू पनि छन्। कोही आफूलाई लागेको मुद्दाका विषयमा गाउँमा गएर बदलाको भावना लिन सक्ने भएकाले त्यस्ता व्यक्ति गाउँमा देखिए सम्पर्क गर्न हामीले फोन नम्बर पनि दिएका छौँ। सुरक्षाका मामलामा नागरिकले पनि सतर्कता अपनाउन हाम्रो अनुरोध छ।”
त्यसैगरी प्रवक्ता घिमिरेले गाउँमा बदलाको भावना लिनसक्नेहरूको विवरणसहित सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरिएको र उनीहरूले सम्भावित घटना घटाउन सक्ने भएकाले त्यसतर्फ प्रहरी सचेत रहेको बताए। उनले भने, “भागेकामध्येबाट पनि केही कैदीहरू सम्बन्धित जिल्लाका प्रहरीको सम्पर्कमा रहेका र केही हाम्रो सम्पर्कमा रहेका छन्। जो आपराधिक मानसिकताका छन्, उनीहरूले गाउँमा बदलाको भावना लिन सक्ने भएकाले प्रहरी निकै चनाखो अवस्थामा रहेको छ।”
भागेका कैदीबन्दीहरूको खोजी अभियान जारी रहेकाले कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिनसमेत उनले आग्रह गरे। भागेका कैदीबन्दीको प्रहरीले उच्च निगरानी राखेकाले उनीहरू गलत गतिविधिमा संलग्न भएमा जुनसुकै समयमा पनि पक्राउ पर्ने घिमिरेले बताए।
उता कारागार व्यवस्थापन विभागले ‘जेनजी’ युवाहरूको प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कने आग्रह गरेको छ। भागेका कतिपय कैदीबन्दीलाई भारत भाग्न लागिरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेर फिर्ता गरेका छन् भने कतिपय नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका तथा कतिपय कैदीहरू आफैँ फिर्ता भएर कारागार आएका प्रवक्ता घिमिरेले बताए।