सुनसान धनगढी, किनमेल गर्न जानेको गौरीफन्टा नाकामा घुइँचो
धनगढीः आज दसैंको पञ्चमी तिथि। आज शनिवार पनि।
एकाबिहानै धनगढी बजारको परिक्रमा गरियो, यहाँका पसलहरू खुलेका छन्, तर ग्राहक छैनन्। दसैंमा अरूबेला भन्दा राम्रो व्यापार हुन्छ भन्ने मान्यता राखिन्छ तर धनगढीका सानादेखि ठूला पसलहरूमा ग्राहकको संख्या उल्लेख्य छैन। जसका कारण व्यवसायीहरू निरास देखिन्छन्।
“दसैंको बेला व्यापार छ भन्ने हो भने ग्राहक तपाईले पनि देख्नुभएकै छ, छैन भन्न त लाजमर्दो कुरा,“ नाम नलेख्ने भन्दै एक जना व्यवसायीले भने। उनले अगाडि थपे, यताका ग्राहक सस्तो पाइन्छ भनेर वनगाव र पलिया जान्छन्, अनि सुक्दैन त हाम्रो व्यापार?“ उनले प्रतिप्रश्न गरे। धनगढी बजार राजपुरदेखि मनेहरासम्मै तन्किएको छ। जसरी बजार तन्केको छ त्यहीँ हिसाबले कारोबार तङ्ग्रीन नसकेको गुनासो धनगढीका स्थानीय व्यवसायीहरूको छ।
भारती सीमावर्ती बजारमा सामान सस्तो पाउने भन्दै यहाँका ग्राहक वनगाव, सुडा र पलिया जाने गर्छन्। यसरी दैनिक उपभोग्य वस्तु खरिद गर्न भारतीय बजारमा जाने क्रम दसैं र तिहारमा ह्वात्तै बढ्दा धनगढीका स्थानीय व्यवसायीले आफ्नो व्यापार नचल्ने समस्या रहेको बताएका छन्। ग्राहकहरू भारतीय बजारमा किनमेल गर्न जाने भएकाले किराना र कपडा पसलको बिक्री प्रभावित भएको व्यवसायीहरू बताउँछन्।
धनगढी बजार सुनसान, गौरीफन्टामा ठेलमठेल
समाचार संकलनको लागि बिहान ९ बजे गौरीफन्टा नाकामा पुग्दा त्यहाँ नेपालबाट भारतीय बजारमा किनमेल गर्न जानेको घुइँचो थियो। क्याम्पस चोकदेखि चटकपुरसम्मका सबै पसल खुला थिए तर ग्राहकको चहलपहल कतै देखिएन। रिक्सा, साइकल र मोटरसाइकल चढेर मान्छेहरू गौरीफन्टा नाका तर्फ हुइकिएको देखिन्थे।
गौरीफन्टामा भारतीय प्रहरीले बिगतको जस्तो सजिलै जान दिएको छैन। सीमावर्ती बजारमा जानेहरूले पनि पहिचान खुल्ने सक्कली कागजात देखाउनुपर्छ। परिचयपत्र नबोकेको व्यक्तिलाई फर्काउने गरिएको छ। भारतीय प्रहरीले चेकजाँचमा कडाइ गर्दा नाकामा एक घण्टासम्म लाइन लाग्नुपर्ने अवस्था छ।
तर पनि भारतीय बजारमा सस्तोमा सामान पाउने भन्दै एक घण्टा भन्दा बढी समयसम्म लाइन लागेर नेपाली उपभोक्ता वनगाव र पलिया गएको हरेक दिन देख्न सकिन्छ। आधा घण्टादेखि लाइनमा लागेको बताउने पार्वती बिष्टले धनगढीमा पनि सपिङ गरेको, त्यहाँ नपाउने सामान किन्न बनगाव जान लागेको बताइन्। उनी साथमा नागरिकता, लाइसेन्स र ब्लुबुक बोकेको बताउँदै थिइन। लामो समयसम्म लाइन बस्नुपर्ने भए पनि सामान सास्तो मिल्ने भएकाले वनगाव जान लागेको उनको तर्क थियो।
कैलाली गाउँ घर बताउने अर्का युवक जहानसँगै पलिया जाने बताइरहेका थिए। लाइनमा लागेको १५ मिनेट भएको बताउने उनले कपडा र अन्य दैनिक उपभोग्य सामग्री खरिद गर्न पलिया जान लागेको बताए। गौरीफन्टा नाकामा सात बजेदेखि नै मानिसको घुइँचो लागेको त्यहाँ खटिएका प्रहरीले बताएका छन्। अन्य समयको भन्दा अहिले घुइँचो बढेको उनले बताए। भारतीय प्रहरीले चेकजाँचमा कडाइ गर्दा पनि भीड लागेको उनको ठम्याइ छ।
गौरीफन्टा नाकामा भारतीय बजारमा जाने साइकल यात्री र मोटरसाइकल यात्रीको छुट्टाछुट्टै लाइन बनाएर भारतीय प्रहरीले रेकर्ड राख्दै जान र आउन दिएको छ। नेपालतर्फ भने भारतबाट आउनेहरूको मात्रै तथ्यांक राख्ने गरिएको छ। नेपालतर्फ सशस्त्र प्रहरी र नेपाल प्रहरीले केही महिना भारत बसेर आउने तथा कामको खोजीमा भारत पलायन हुनेहरूको सामान्य रुपमा रेकर्ड राख्ने गरेको छ।
उनीहरूले कापीमा रेकर्ड राख्ने काम गरिरहेका छन्। भारतीय प्रहरीले सीमावर्ती बजारमा किनमेल गर्न जानेको समेत रेकर्ड राख्ने गरेको छ भने नेपालतर्फ त्यसको कुनै रेकर्ड राखिएको छैन। सडक नै जाम गरेर लागेको लाइन व्यवस्थापनमै प्रहरी लागेको देखिन्छ। भारतीय प्रहरीको काउन्टर अगाडिको लाइनमा मान्छेको संख्या घट्नासाथ नेपाली प्रहरीले थप मान्छेहरूलाई उता पठाउने काम गरिरहेको देख्न सकिन्छ।