सुदूरपश्चिम प्रदेश सभामा करिब ७ करोडको क्षति! के-के जल्यो?
धनगढी: भदौ २४ गते भएको जेन्जी आन्दोलनमा सुदूरपश्चिमको प्रदेश सभामा करिब ७ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। भवन पूर्वाधार बाहेक प्रदेश सभामा ६ करोड ९३ लाखको क्षति भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
मुख्यमन्त्री कार्यालयले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा प्रदेश सभा सचिवालयको ८ वटा चार पाङ्ग्रे गाडी जलाइएको छ। जसमध्ये एउटा मिनीबस र एक पिकअप भ्यान जलेर नष्ट भएको छ। प्रदेश सभाको ४ वटा मोटरसाइकल, एक स्कुटर र ४ वटा साइकलसमेत जलाइएको छ।
प्रदेश सभा सचिवालयको ५७ थान ल्यापटप, ३१ वटा डेस्कटप कम्प्युटर, ५ थान फोटोकपी मसिन, ७ थान टेलिभिजन, ४ थान डिजिटल क्यामेरा, ४ थान भिडियो क्यामेरा, ९ थान मोबाइल तथा तीन थान मोनिटरसमेत जलेको मुख्यमन्त्री कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, प्रदेश सभाको १२ थान सिसिटिभी क्यामेरा, १० थान कन्फेरेन्स माइक, ११ थान प्रिन्टर, एक फ्याक्स मसिन समेत जलेर ध्वस्त भएको हो।
प्रदेश सभाको ३९ थान एसी, १९ वटा सिलिङ पङ्खा, १२ वटा भ्याकुम क्लिनर, ४ वटा फ्रीज, एक जेनेरेटर, १० थान इन्भर्टर, ८ थान मिक्सचर ग्राइन्डर, १६ थान स्टेण्ड पंखा, ९ थान पानी तान्ने मोटर र ३० थान माइक जलेको जनाइएको छ।
आगजनीमा ४७ थान कुर्सी, १८ थान सोफासेट, ८ वटा स्टिल दराज, ४७ थान रिभल्विङ कुर्सी, ३० थान टि-टेबल, ८ थान लोबेड, १५ थान र्याक र ४ थान लाउड स्पिकर जलेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
प्रदेश सभा सचिवालयबाट भुक्तानी दिन बाँकी सामान समेत जलेको छ। ८६ लाख मूल्यको दुई थान डिजिटल डिस्प्ले बोर्ड र ६० हजार मूल्यको दुई सेट सोफा जलेर नष्ट भएको प्रतिवेदनमा उल्लेख छ।