कैलाली प्रहरीका थुनुवा कक्षहरु रित्तिए, थुनुवाहरुलाई घर पठाइयो
धनगढीः जिल्ला प्रहरी कार्यालय, कैलाली र मातहतका प्रहरी कार्यालयहरुका थुनुवा कक्षा रित्तियका छ्न। जेन–जी पुस्ताको आन्दोलनका क्रममा अदालत र प्रहरी कार्यालयहरुमा आगजनी तथा तोडफोड भएपछि थुनुवा कक्ष खाली गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, कैलाली र मातहतका कार्यालयहरुबाट ९४ जना थुनुवाहरु छोडिएका छन्। जिल्ला अदालत कैलालीले आगजनी भएपछि काम रोकेका कारण थुनुवाहरुको म्याद थप गर्न नपाइएकाले जमानीमा छोडिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता राजकुमार सिँहले अदालतबाट म्याद थप र मुद्दाको प्रक्रिया अगाडी बढाउन समस्या भएकाले थुनुवाहरुलाई छोडिएको बताए।
जेन–जी पुस्ताको प्रदर्शनका क्रममा जिल्ला कारागार, कैलालीका कैदीबन्दी तथा थुनुवा भगाइएका बेला प्रहरीले पनि थुनुवा कक्षहरुमा रहेकाहरुलाई जमानीमा छोडेको हो। प्रहरीले बोलाएको समयमा आउने सर्तमा सबै मुद्दाका थुनुवाहरु घर गएका थिए। उनीहरुलाई कैलाली प्रहरीले बोलाएको छैन्। दशैँको समय सुरु भएकाले अदालतको कामकारबाही बन्द हुने भएकाले झनै समस्या भएको छ। लागुऔषध, चोरी, तस्करी जस्ता अपराधको आरोपमा पक्राउ परेकाहरु घर गएका छन्। उनीहरुले फेरि पहिलाकै अपराध सुरु गरेका गुनासाहरु आएका छन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीबाट ६९ पुरुष र पाँच महिला गरेर ७४ जना, इलाका प्रहरी कार्यालय मालाखेतीबाट नौ पुरुष, इलाका प्रहरी कार्यालय, सुखडबाट चार पुरुष, इलाका प्रहरी कार्यालय, लम्कीबाट द्ुई पुरुष, टीकापुरबाट चार पुरुष र भजनीबाट एक पुरुष थुनुवा जमानीमा घर पठाइएको तथ्याङ्क छ।
जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयसँगको समन्वयमा उनीहरुलाई जमानीमा छोडिएको बताएको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीमा हालै पक्राउ गरेका चार जना लागुऔषध मुद्दाका थुनुवाहरु छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीमा बुधवार दिउँसोसम्म चार जना मात्र नयाँ थुनुवाहरु रहेका हुन्।
दशैँको समय सुरु भएकाले अपराध समेत बढ्ने र थुनुवाहरुको सङ्ख्यासमेत बढ्ने अनुमान गरिएको छ।