दसैँको मुखमा समेत कामको खोजीमा भारत पस्ने क्रम रोकिएन
धनगढीः दसैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीको संख्या बढ्दो छ। भारतबाट दसैँ मनाउन आउनेको संख्या क्रमशः बढिरहेको भए पनि कामको खोजीमा भारत पस्नेको लर्कोसमेत थामिएको छैन। दसैँ आउन केही दिन मात्रै बाँकी छ। आँगनमै पुगेको दसैँ मनाउन छोडेर सुदूरपश्चिमका पहाडी जिल्लाबाट कामको खोजीमा भारत पस्ने क्रम थामिकएको छैन।
गएको एक हप्तामा त्रिनगर नाका भएर भारत पस्नेको संख्या एक हजार ४०२ जना छ भने आउनेको संख्या पाँच हजार १५५ जना छ। साताको पहिलो दिन भदौ २८ गते शनिवार त्रिनगर नाका हुँदै ११५ जना भारत पसेका छन् भने २९ गते १२८ जना कामको खोजीमा भारत गएको तथ्याङ्क छन्।
भदौ ३० गते भने साताकै सबैभन्दा बढी ५५८ जना व्यक्ति कामको खोजीमा भारत पसेका छन्। भदौ ३१ गते १२५ जना भारत पसेका छन्। असोज ६ गते घटस्थापन छ तर १ गते २०९ जना सुदूरपश्चिमेली देश छोडेर भारत पसेका छन्। असोज २ गते १३१ जनाले गाउँ छोडेका छन् भने असोज ३ गते १३६ जना कामको खोजीमा भारत पेसेको त्रिनगरस्थित हेल्प डेस्कको तथ्याङ्कले देखाएको छ।
कैलालीको त्रिनगर नाका हुँदै भारतको दिल्ली, बेङ्लोरु, गुजरात, पञ्चाव, राजस्थान लगायतका सहरमा नेपालीहरु काम गर्न गइरहेका छन्।
उसो त कैलालीको गौरीफन्टा नाका हुँदै घर पर्कने नेपालीको संख्या भारत पस्नेको भन्दा बढी छ। एक हप्तामा भारतबाट दशैँ मनाउन आउनेको संख्या पाँच हजार १५५ जना छ।
भदौ २८ गते शनिवार भारतबाट ६८२ जना स्वदेश फर्किएका छन्। भदौ २९ गते आइतवार एक हजार ४३७, सोमवार ३१३, मंगलवार ६०९ जना स्वदेश पर्केका छन्। यस्तै बुधवार ५०५ जना, बिहीवार ७२३ जना र शुक्रवार ८८६ जना भारतबाट नेपाल पर्केको त्रिनगर नाकास्थित हेल्प डेस्कको तथ्याङमा उल्लेख छ।
दसैँका लागि भारतको लुधियानाबाट घर फर्कन लागेका बैतडीका मोहन बोहराले यो पटक पाँच बर्षपछि दसैँ मनाउन घर आएको बताए। यस्तै भोजबहादुर धामीले दिल्लीमा काम गरेर ३ वर्षपछि दसैँ मनाउन घर फर्केको बताए। “म रोजगारीका लागि दिल्ली जान थालेको १२ वर्ष भयो। परार र पोहर साल आउने मौका मिलेने तर यो वर्ष आफ्नो जन्मभूमीमा गएर दसैँ मनाउने भनेर घर फर्केको हुँ,' उनले भने, 'यो वर्ष पूजा गर्ने कार्यक्रम पनि छ। त्यसैले एक महिनाको छुट्टि लिएर घर फर्केको हुँ।'
अरू घर फर्किरहेका बेला त्रिनगर नाकामा भेटिएका कमल रोकायाले भने भारतको सुरत जान लागेको बताए। उनले अहिले राम्रो काम सजिलै पाइने भएकाले दसैँ उतै मनाउने हिसावले जान लागेको बताए। दसैं गाउँमा नै राम्रो हुने भए पनि काम पनि गर्नै पर्ने ठानेर मनमा गाठो पारेर भारत जान लागेको रोकायाले बताए।
बझाङ घर बताउने प्रताप बोहराले पाँच वर्षपछि दसैँ मनाउन घर आएको बताइरहँदा अछामका सुर्जे नेपाली भने मुम्बइ जाने बताइ रहेका थिए। उनले छोराछोरी पनि उतै भएकाले दसैँ उनीहरूसँगै मनाउने भनेर श्रीमतीसमेत लगेर मुम्बइ जान लागेको बताए।
अहिले घर फर्किएकाहरूले पनि दसैँपछि फेरि भारत नै फर्कने बताइ रहेका थिए। नेपालमा बस्दा बेरोजगार बस्नुपर्ने भएकाले छुट्टी सकिनासाथ भारत नै फर्किने बैतडीका लक्ष्मणसिंह बिष्टले बताए। उनले भने, 'हाम्रा लागि नेपालमा रोजगारी नै छैन। यहाँ काम गर्ने वातावरण पनि छैन। सानोतिनो पसल राखे पनि उधारो खाने चलन छ। हामीले कामको खोजीमा भारत जानु बाध्यता हो, रहर होइन हजुर।'