दशैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीको लर्को
कैलाली: दशैँ नजिकिएसँगै भारतबाट काम गरी घर फर्कने नेपालीको लर्को लाग्न थालेको छ। भारतको दिल्ली, बेङ्लोरु, गुजरात लगायतका स्थानबाट नेपालीहरु काम गरी घर फर्कन थालेका हुन्।
कैलालीको गौरीफन्टा नाका हुँदै नेपालीहरु घर पर्कन थालेका छन्। सो नाका हुँदै दशैँ मनाउन सुदूरपश्चिमका पहाडी ७ जिल्लाका मानिसहरु बढी आउने गरेका छन्। गत शनिबार छ सय ४०, आइतबार छ सय ६५, सोमबार आठ सय ४० मंगलबार, सात सय २ जना नेपाल पर्केका छन्। त्यस्तै बुधबार सात सय १३, बिहिबार पाँच सय ३३ र शुक्रबार छ सय ८० जना भारतबाट नेपाल पर्केका त्रिनगर नाका स्थित हेल्पडेस्कको तथ्याङमा उल्लेख छ।
दशैँका लागि भारतबाट घर फर्कन लागेका बझाङका राजेन्द्र गिरीले यसपाली छ बर्षपछि दसैँ मनाउन घर आएको बताए। यस्तै तारादेवी उखेडाले दिल्लीमा काम गरेर ७ वर्षपछि यसपाली दसैँ मनाउन घर फर्केको बताइन्। “म र मेरो श्रीमान रोजगारीका दिल्ली गएको ७ बर्ष भयो” उनले भनिन्, “यसपाली आफ्नो जन्मभूमीमा गएर दसैँ मनाउन भनी घर फर्केका छौँ।”
त्यस्तै, कमला सुनारले छोराछोरी नेपालमै छोडेर भारतमा रोजगारी गर्न गएको ५ बर्ष भएको बताइन्। यो बर्ष दसैँ पनि मनाउन छोराछोरीसँग भेटघाट गरौँ भनि घर फर्केको उनको भनाइ छ। एक महिनाको छुट्टीमा घर फर्केको उनले बताइन् । दसैँपछि फेरी भारत फर्कने उनले बताईन। “नेपालमा रोजगारी के छ ? यहाँ काम गर्ने वातावरण पनि छैन, फेरि काम गर्ने उद्योगधन्दा पनि नहुनुले कामको खोजीमा भारत जान बाध्य हुनु परेको।” एनले भनिन्।
दसैँको मुखमा कामको खोजीमा भारत जानेको संख्या पनि कम छैन्। आईतबार एक सय ३५, सोमबार एक सय ५०, मंगलबार एक सय १९ जना कामको खोजीमा भारत गएको तथ्याङमा उल्लेख छ। बुधबार एक सय ३६, बिहिबार एक सय ५० र शुक्रबार दिउँसोसम्म एक सय ८३ जना नेपाली कामको खोजीमा भारत गएका छन्।
घर पर्कने नेपालीलाई भारतीय सुरक्षाबलले कडाई गर्न थालेको छ । नागरिकता देखाएर मात्र नेपाल प्रवेश गर्न दिएको छ।