सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेन्जी आन्दोलनमा सुवासको बलिदानः आमाको आशा र भाइको भरोसा गुम्यो

२०८२ असोज २, ०१:४५ नारायण अवस्थी

धनगढीः बझाङको खप्तड छान्ना गाउँपालिका–७, गोर्खाली गाउँका सुवास बोहराको प्रहरीको गोली लागेर भदौ २३ गते निधन भएको थियो। २१ वर्षीय सुवासको जेन्जी आन्दोलनका क्रममा गोली लागेर ज्यान गएको हो।

यसभन्दा अगाडि सुवास भाषा परीक्षा पास गरेर जापान जाने तयारीमा थिए। तर, जापानको भिसा लागेको केही दिनमै उनका बुबा दीपक बेपत्ता भएपछि उनको जापान जाने योजना रोकिएको थियो।

कैलाली बहुमुखी क्याम्पसमा बिएएलएलबी पढ्दै गरेका सुवासले जापान जाने योजना यो पल्ट भने दोस्रो पटक बुनेका हुन्। बुवा वेपत्ता भएपछि भारतको बेङलुरु पुगेका सुवासलाई आमाले जापान पठाउने ढाडस दिएपछि फेरि जापान जाने प्रक्रिया मिलाउन काठमाडौँ फर्किएका थिए। आर्थिक रुपले निकै विपन्न बोहराकी आमा कैलीदेवी बोहराले भारतमा मजदुरी गरेर जेठो छोरा सुवासलाई जापान पठाउने निधो गरेकी थिइन्।

जेन्जी आन्दोनको क्रममा सुवासलाई नयाँ वानेश्वरस्थित उनी संसद् भवन अगाडिको गेटमा गोली लागेको थियो। त्यहीँ गोलीले कैलीदेवीको मुटभन्दा प्यारो छोरालाई चुँडेको थियो।

छोरोलाई जापान पठाउने सपना बोकेर भारतको बेङलुरुमा मजदुरी गर्दै गरेकी आमा र सुवासँगै काठमाडौँ बस्दै गरेका भाइको अहिले बिचल्ली भएको छ। गाउँको होनाहार युवा गुमाउँदा सिङ्गो गाउँ मात्रै होइन पूरै बझाङ जिल्ला शोकमा डुबेको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ क अध्यक्ष रमानन्द जोशीले बताए।

सुवासको मृत्युसँगै बिरामी आमाको उपचार गर्ने, बेपत्ता बुबालाई खोज्ने र भाइहरूको भविष्य सुरक्षित गर्ने सपना पनि अस्ताएको छ। उनी जापान जान काठमाडौँ गएका गएका थिए। जेन्जी आन्दोलनमा उनी अस्ताउदा उनको परिवारको खुसी लुटिएको छ।  दाइ अस्ताउदा उनको  भाइको आड र भरोसा गुमेको छ भने आमाले मुटुभन्दा प्यारो सन्तान गुमाएकी छन्। आन्दोलनमा सुवास जस्तै दर्जनौं युवाहरुको असामयिक देहान्तले अहिले सिङ्गो देश शोकमा डुबेको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस