सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालपोत र नापीको सम्पूर्ण सेवा सुरु हुन अझै एक हप्ता लाग्ने

२०८२ असोज २, १२:५० नारायण अवस्थी

धनगढीः जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी भएको मालोपत कार्यालय र नापी कार्यालय धनगढीको सम्पूर्ण सेवा सुरू हुन अझै एक हप्ता लाग्ने भएको हो। आगजनी र तोडफोड भएको यी दुबै कार्यालयको अहिले मर्मत चलिरहेको छ।

मालपोत कार्यालयको कोठा नम्बर १२ पूर्ण रुपले जलेकोले अहिले मर्मतको काम भइरहेको प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले बताए। उनले कार्यालयमा रङ लगाउने काम सकेर कोठा मर्मत गर्ने काम भइरहेको बताए।

मालपोत कार्यालयको वाइरिङ पूर्ण रुपमा जलेर नष्ट भएकाले तुरून्तै सेवा सुरू गर्न समस्या भएको हो। दुई तले कार्यालय भवनमा आगलागीका कारण वायरिङ जलेर नष्ट भएको हो।

प्रमुख मालपोत अधिकृत दौल्यालले विद्युत बिना सेवा दिन नसकिने भएकाले वायरिङ गर्दासम्म करिब एक हप्ता लाग्न सक्ने बताएका छन्। कार्यालयमा कम्प्युटर समेत जलेकाले कम्प्युटर प्राप्त हुना साथ सेवा सञ्चालनमा सहज हुने बताए। 'हामीले अहिले रङ लगाउने काम सकेका छौँ। कोठा नम्बर १२ को मर्मत चलिरहेको छ,' उनले भने, 'वायरिङ गर्न बाँकी नै छ। वायरिङ गरेपछि सेवा सुरू गर्न सहज हुन्छ। सबै सेवा सुरू गर्न एक हप्ता लाग्न सक्छ।'

नापी कार्यालमा आंशिक सेवा सुरू
नापी कार्यालय धनगढीबाट भने आंशिक सेवा मात्रै सुरु भएको छ। कार्यालयको एक कोठमा आगजनी भएको थियो भने कम्प्युटर फुटाइएकाले सेवा सञ्चालनमा समस्यम भएको छ।

मालपोतको काम सुरू हुनासाथ नापीकाट दिइने सम्पूर्ण सेवा सुरू हुने प्रमुख मालपोत अधिकृत जनकराज भट्टले बताए। उनले नक्सा उतार र फिल्ड बुक उतारको काम भने सुरू भएको जानकारी दिए। 'हामीले नक्सा र फिल्ड बुक उतारको काम गर्न थालेका छौँ। कर्यालयका सम्पूर्ण कम्प्युटर र उपकरणमा क्षति भएको छ भने मालपोतको सेवा समेत सुरू नभएकाले हामीले पनि सबै सेवा सुरू गर्न सकेका छैनौँ,' उनले भने, 'कम्प्युटर भयो र मालपोतको सेवा सुरू भयो भने हाम्रो कार्यालयको पनि सबै सेवा सुरू हुन्छन्।'

नापी र मालपोत कार्यालयका कम्प्युटर लगायतका उपकरणमा तोडफोड र आगजनी गरेर नष्ट भएका छन्। जसका कारण पनि सेवा सुचारू गर्न समस्या भएको अधिकारीहरूले बताएका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस