एमाले नेता भट्टराईले भने, 'पूर्व मन्त्री भट्टको घरमा आगजनी गरेको छैन'
धनगढीः नेकपा एमाले जिल्ला लेखा समितिका सदस्य बालकृष्ण भट्टराईले पूर्व मन्त्री लेखराज भट्टको घरमा भएको आगजनीमा आफ्नो संलग्नता नभएको बताएका छन्।
पूर्व मन्त्री भट्टको घरमा भदौ २४ गते जेन्जी युवाहरूको आन्दोलनका क्रममा आगजनी र लुटपाट भएको थियो।
पूर्व मन्त्री भट्टका भाइ गोकर्ण भट्टले राजनीतिक प्रतिशोध लिएर चरित्रहत्या गर्ने मनसायले आगजनीमा आफ्नो संलग्नता रहेको झुटो दाबी गरेको भट्टराईले बताए। उनले दिनेशखबरमा भदौ ३१ गते प्रकाशित भएको समाचारमा आफ्नो नाम मुछ्ने काम भएको बताएका छन्।
आन्दोलनको समयमा आफू अतरिया क्षेत्रमै भएको तर कुनै पनि किसिमको तोडफोड र आगजनीमा आफू संलग्न नभएको दाबी भट्टराईले गरेका छन्। आफ्नो बदनाम गर्ने उद्देश्यले आफूलाई घटनामा जोडिएकोले प्रति भट्टराईले खेद प्रकट गरेका छन्।