सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरवको सहादत: जोशी दम्पतीको बुढेसकालको सहारा चुँडियो

२०८२ असोज १, ०४:२६ नारायण अवस्थी

धनगढी: जेन्जी आन्दोलनले धनगढी–५ तारानगरका ७८ वर्षीय बासुदेव जोशी र उनकी श्रीमतीलाई जीवनकै ठूलो घाउ दिएको छ। बुढेसकालको एक मात्र सहारा, परिवारको गर्व र भविष्यका सपना बनेका छोराले आन्दोलनमै ज्यान गुमाएपछि उनीहरू असहाय बनेका छन्।

गौरव जोशी धनगढीको ऐश्वर्य विद्या निकेतनबाट कक्षा १२ पास भएर विदेश पढ्न जाने तयारीमा थिए। उनी बेलायत जाने तयारीमा थिए। भाषा कक्षा गर्दै उनले विदेश पढाइको योजना बुनेका थिए। तर, भदौ २३ गते सोमबार बिहान कक्षामा जान्छु भनेर कोटेश्वरस्थित डेराबाट निस्किएका गौरव कहिल्यै फर्किएनन्। आन्दोलनमा सहभागी भएको केही घण्टामै प्रहरीको गोली लागेर उनको ज्यान गयो।

गोली लाग्नुभन्दा केही अगाडि मात्रै गौरवले नेताहरूका कारण देश बर्बाद भएको भन्दै आन्दोलन गर्नुपर्ने बताएका थिए। उनले जेन्जीहरूको माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने अभिव्यक्ति दिएका थिए। त्यसको केही मिनेटमै उनलाई गोली लागेको थियो।

छोराको निधनको खबर ७८ वर्षीय आमाबुबालाई भने तुरुन्तै सुनाउन सुनाइएको थिएन। आफन्तहरूले मंगलबार दिनभर ‘चोट लागेको छ, उपचार भइरहेको छ’ भन्दै सम्झाइएको थियो। साँझतिर मात्र हिम्मत गरेर गौरवको मृत्युको खबर आमाबुबालाई भनिएको थियो। खबर सुनेपछि दुवै जना स्तब्ध र विक्षिप्त बने।

गौरवको मृत्युले केवल उनको घरमात्र होइन, सिंगो तारानगर  र आफन्तलाई शोकमा डुबाएको छ। परिवारले उनको हिजो मात्रै पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरेका छन्। भदौ २३ गते सोमबार मृत्यु भएका अधिकांश युवाहरूको टाउकोमै गोली लागेको समाचार प्रकाशित भएका छन्। गौरवको पनि टाउकोमा नै गोली लागेको थियो। बुधवारसम्म भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ। आन्दोलनमा प्रदर्शनकारी ६० जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७३ जनाको ज्यान गएको हो। 
 
जेन्जी आन्दोलन सुरु भएको पहिलो दिनमै १९ जना मारिएका थिए। हालसम्म मृतकको संख्या ७३ पुगेको छ। जोशी भन्छन्, “प्रहरीले अत्यधिक बल प्रयोग गर्‍यो।घुँडामुनि गोली हान्नु पर्थ्यो। तर, ताकेर टाउकोमै गोली हानियो। जसले गर्दा गौरव जस्तै दर्जनौं युवाको ज्यान गयो।”

वासुदेव जोशी धनगढीका एक परिचीत अनुहार हुन्।सबैसँग आत्मीय सम्बन्ध भएका र सधैं हसिलो देखिने उनी अहिले शोकको आहालमा डुबेका छन्। वासुदेवका दुई छोरी छन् भने गौरव बुढेसकालमा  जन्मेका सन्तान हुन्। 
परिवारको एक्लो छोरा गुमाउनु पर्दा जोशी परिवार र आफन्त अहिले शोकमा डुबेका छन्। छोराको मृत्युुको खबर सुन्ने बित्तिकै वासुदेव अचेत भएर ढलेका थिए। विमान सेवासमेत ठप्प भएकाले छोराको शव बुझ्न सडक मार्गबाट जानु परेको थियो।

बुढेसकालमा सहारा दिने खाँबो नै ढल्दा जोशी परिवार र आफन्त मात्रै होइन तारानगर नै शोकमा डुबेको छ। गौरवका विद्यालयका शिक्षक, विद्यार्थी साथीहरूले आन्दोलनमा ज्यान गुमाएका गौरव प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

हिजो राष्ट्रिय सम्मानका साथ गौरवसहितका सहिदहरूको अन्त्येष्टि गरिएको छ। सरकारले उचित क्षतिपूर्ति दिने घोषणा पनि गरेको छ। तर ७८ वर्षीय वासुदेव र उनको पत्नीको आँसु थामिएको छैन। छोराको जन्ती जानुपर्ने समयमा मलामी गएर अन्त्येष्टि गर्नुपर्दाको पीडा जोशी दम्पतीको बलिन्द्र आँसुबाट अभिव्यक्त भएको छ। उनको एक मात्र पुत्र वियोगको पीडामा आफन्तले सान्त्वना दिने काम गरिरहेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस