मुख्यमन्त्री शाहले गरे क्षतिग्रस्त संरचनाहरूको अनुगमन
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले जेन्जी आन्दोलनका क्रममा भएको क्षतिको अनुगमन गरेका छन्।
उनले मङ्गलवार अन्य मन्त्री र प्रमुख सचिवसँगै धनगढीमा रहेका सरकारी संरचनाको निरीक्षण गरेका हुन्। क्षतिको अनुगमन पश्चात् मुख्यकन्त्री शाहले आगजनी र तोडफोडले क्षतिग्रस्त भएका भौतिक संरचना पुन: निर्माणमा एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।
भदौ २४ गते भएको जेन्जी आन्दोलनमा आगजनी तथा तोडफोडमा परेका कार्यालयहरूको सेवा सञ्चालन गर्न लाग्ने समयको विषयमा पनि मुख्यमन्त्री शाहले कार्यालय प्रमुखहरूसँग चासो राखेका थिए। मुख्यमन्त्री शाहले यथाशीघ्र सेवा सञ्चालन गर्न प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए।
मुख्यमन्त्री शाहले प्रदेशका मन्त्रालय तथा अन्य कार्यालयको सरसफाइ गरेर एक/दुई दिनमै सेवा सञ्चालन गर्नेगरी काम भइरहेको बताए।
शाहले निरीक्षणका क्रममा संघ सरकार अन्तरगतका धेरैजसो कार्यालयले वैकल्पिक प्रबन्ध गरेर अत्यावश्यक सेवा सञ्चालन गरिसकेको बताए ।
आन्दोलनका क्रममा ज्यान गुमाउने युवालाई श्रद्वाञ्जली दिँदै मुख्यमन्त्री शाहले आन्दोलनमा भएको धनजनको ठूलो क्षतिले आफूलाई विक्षिप्त बनाएको प्रतिक्रिया दिएका छन्।
जेन्जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतका मन्त्रालय, विभिन्न विषयगत कार्यालय, संघ सरकार अन्तरगतका कार्यालय समेत गरेर कैलालीका १०३ सरकारी कार्यालयमा प्रदर्शनकारीले आगजनी, तोडफोड र लुटपाट भएको प्रहरीले जनाएको छ।