धनगढीमा जेन्जी आन्दोलनमा घुसपैठ: पूर्व मेयर वडका छोराले एमाले पार्टी कार्यालयमा तोडफोड गरे
धनगढी: भदौ २४ गते धनगढीमा भएको जेन्जी युवाहरूले गरेको आन्दोलनमा घुसपैठ भएको तथ्य बाहिरिएका छन्।
घुसपैठकै कारण धनगढीमा आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा व्यापक क्षति भएका विवरण सार्वजनिक भएका छन्।
संघ र प्रदेश मातहतका कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको धनगढीमा सबै राजनीतिक दलका पार्टी कार्यालयसमेत जलाएका छन्।
धनगढी-१ मा रहेको नेकपा एमालेको जिल्ला र प्रदेश कार्यालयमा तोडफोड गर्ने समूहको अगुवाइ भने काँग्रेस केन्द्रीय सदस्य एवं धनगढीका पूर्व नगर प्रमुख नृपबहादुर वडका छोरा निखिल ओडले गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा नेता वडका छोरा निखिललाई एमाले पार्टी कार्यालय भित्र प्रवेश गरेर भाटा प्रयोग गरि कुर्सी भाचिरहेको देख्न सकिन्छ।
धनगढीमा काँग्रेस नेतृ डाक्टर आर्जु राणा देउवाको घरमा आगजनी गरेपछि लगत्तै पशुपति टोलमा रहेको एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो।
निखिल वड उक्त तोडफोड र आगजनीमा सहभागी भएको भिडियो सार्वजनिक भएको छ। एमाले पार्टी कार्यालयमा तोडफोड गर्न लागेको भिडियो निखिलले टिकटकमा राखेका थिए। उक्त भिडियो केही समयपछि हटाइएको थियो।
जेन्जी आन्दोलनको प्रतिकार गर्ने भन्दै धनगढीमा नेपाली काँग्रेस धनगढी,गोदावरी र चुरे गाउँ कार्यसमितिको बैठकमा समेत पूर्व मेयरका छोराको आगजनी र तोडफोडमा प्रत्यक्ष संलग्नता रहेको चर्चा चलेको बैठकमा सहभागी एक जना नेताले बताएका छन्।
पूर्व मेयर वडले जेन्जीहरूको प्रतिकार गर्नुपर्ने मत राखेपछि अन्य नेताहरूले पार्टी कार्यालय जलाउनमा उनकै छोराको समेत संलग्नता रहेको बताएका थिए।