सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा १४५८ कैदी कारागारबाट भागे, प्रहरी धमाधम पक्राउमा जुट्यो

२०८२ भदौ २७, ०२:४८ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशमा जेन्जी आन्दोलनको मौका छोपेर भागेका कैदीहरूलाई पक्राउ गर्न थालिएको छ। शुक्रवारसम्म करिब तीन सय कैदीहरू पक्राउ परेका छन्।

प्रदेश प्रहरी कार्यालयले शुक्रवार बिहानसम्म कारागारबाट भागेका २७८ बन्दीहरू पक्राउ परेको जनाएको छ। उनीहरू मध्ये कतिपय आफैं सम्पर्कमा आएका थिए भने धेरैजसोलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

गत मङ्गलवार र बुधबार सुदूरपश्चिमका ९ वटा कारागारमा एक हजार ७५४ बन्दी रहेकामा एक हजार ४५८ कैदीबन्दी भागेका थिए। शुक्रवार बिहानसम्म २७८ जना पक्राउ परेपछि हाल कारागारहरूमा ५६८ कैदीबन्दी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

करिब एघार सय बन्दी अझै फरार
कैलाली कारागारसहित बाजुरा र अछाम कारागार बाहेकबाट एघार सय ८० कैदीबन्दी अझै फरार छन्। अहिलेसम्म फरार हुनेमा सबैभन्दा बढी कैलाली कारागारका ६४१ कैदीबन्दी छन् भने कञ्चनपुर जिल्ला कारागारबाट भागेका ३३६ कैदीबन्दी फरार छन्।

यसैगरी, बझाङ जिल्ला कारागारबाट ५१ जना, बैतडी जिल्ला कारागारबाट ४८ जना, दार्चुला जिल्ला कारागारबाट  ४३ जना, डोटी कारागारबाट ३९ जना तथा  डडेल्धुरा जिल्ला कारागारबाट २२ जना भागेकामा ती सबै शुक्रबारसम्म फरार रहेको प्रहरीले जनाएको छ।

घटना पूर्व कुन कारागारमा कति बन्दी?
मङ्गलबार र बुधबारको घटना हुनुभन्दा अगाडि सुदूरपश्चिमका कारागारमा एक हजार ७५४ जना कैदीबन्दी रहेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ।

कैलाली जिल्ला कारागारमा सबैभन्दा बढी ६६७ बन्दी रहेकामा ६६६ जना भागेका थिए। यस्तै, कञ्चनपुर जिल्ला कारागारमा ४७९ जना बन्दी रहेकामा ४५८ भागेका थिए।

डोटी बाल सुधार गृहमा ५३ जना बन्दी रहेकोमा ५२ जना फरार भएका थिए भने बझाङ जिल्ला कारागारका ८५ मध्ये ६५ जना भागेका थिए। डडेल्धुरा जिल्ला कारागारमा १२७ जना बन्दी मध्ये ८५ फरार भएका हुन् भने बैतडी कारागारमा रहेका ६२ बन्दी मध्ये ६१ जना भागेका थिए।

यसैगरी, दार्चुला जिल्ला कारागारका ७७ जना बन्दी मध्ये ७१ फरार रहेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ। डोटी जिल्ला कारागारका ७१ जना तथा बाजुरा कारागारका ६५ जना मध्ये भने कोही नभागेको प्रदेश प्रहरीले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस